हवाईयात्रा असुरक्षित भएकामा सांसदको चिन्ता



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई सुरक्षित बनाउन कानुन आवश्यक भए त्यो पनि शीघ्र तर्जुमा गर्नुपर्नेमा जोड दिइन् ।

‘देशको उड्डयन क्षेत्रमा गम्भीर समस्या देखिएको छ, यस क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित सबै निकायलाई आग्रह छ । यो क्षेत्रलाई व्यवस्थित बनाउने कानुन शीघ्र तर्जुमा गरौँ’, सांसद गौतमले भनिन् ।

सांसद बिना लामाले पछिल्लो समयमा हवाई र सडकयात्रा असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘सडक पनि सुरक्षित छैन, सुरक्षित मानिएको हवाई क्षेत्र पनि असुरक्षित भयो’ उनले भनिन् ।

सांसद वीरेन्द्रप्रसाद महतोले सिरहा जिल्ला, कल्याणपुर–३ का २० वर्षीय युवा अरुण शर्मा विगत ३५ दिनदेखि काठमाडौँबाट हराएका तथा हालसम्म फेला नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले नदीको कटानका कारण तराई बस्ती धरापमा परेका भन्दै तटबन्धनको माग गरे ।


क्लिकमान्डु