रास्वपाले ०८४ मा कांग्रेस र एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले गिरिबन्धु टी-इस्टेट, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण, ट्रंक डेडिकेटेड लाइन विवाद र सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै थापाले सत्ता र विपक्षमा रहँदा कांग्रेसको एउटै बोली हुनुपर्ने बताए ।

‘गिरिबन्धु, भुटानी शरणार्थी, ट्रंक लाइन विवाद वा सहकारी ठगी हुन्, जतिसुकै शक्तिशाली भए पनि छानबिन हुनुपर्छ सरकारले काम गरेर देखाउनुपर्छ,’ उनले भने ।

उनले कांग्रेस एमालेमाथि भ्रष्टाचार आरोपको ढाकछोप गर्न गठबन्धन बनाएको आरोप रहेको भन्दै जनतालाई बुझाउनु पर्ने बताए । थापाले कांग्रेस-एमालेले बहसबाट भाग्ने र बरालिने गर्न नहुने उनले बताए ।

उनले मन्त्रीहरुलाई बोल्दै हिँड्नु भन्दा काम गरेर देखाउन सुझाव दिए ।

थापाले निर्वाचन प्रणाली फेर्न छलफल गरिरहेको बताए । ‘तल्लो हाउसलाई प्रत्यक्ष निर्वाचित गरिदिने र माथिल्लो हाउसलाई समानुपातिक बनाउने कुरा मिल्दैन’, उनले भने, ‘अहिले साथीहरू ठूला दलले कुरा मात्रै गर्छन् भन्छन् । ०६४ सालमा माओवादी पनि ठूलो दल थियो । सानो ठूलो भन्ने कोही पनि हुँदैन । अहिले ठूला दललाई प्रश्न गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले ०८४ मा कांग्रेस र एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ ।’


क्लिकमान्डु