सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । एकै दिन २ हजार १ सय मूल्य बढ्दा सुनको भाउ अहिलेसम्मकै महँगो बनेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २ हजार १ सय रूपैयाँ बढेको हो ।

आज सुन प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँ पुगेको छ । यसअघि गत साउन २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।


क्लिकमान्डु