कृषि मन्त्री अधिकारीद्वारा मन्त्रालयका पूर्वसचिवसँग छलफल



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयका पूर्वसचिवहरुसँग छलफल गरेका छन् ।

मन्त्री अधिकारीले पूर्वसचिवहरुको सुझावलाई कार्यन्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कृषि क्षेत्रमा विगत र अहिले देखिएका समस्या समाधान गर्दै कृषि मन्त्रालय र किसान बीच देखिएको खाडललाई पुर्ने आफ्नो प्रमुख उद्देश्य रहेको र यसका लागि पूर्वसचिवहरुको सुझाव महत्वपुर्ण हुने मन्त्री अधिकारीले जानकारी दिए ।

यो वर्ष किसानले बिगतमा जस्तो मलको समस्या भोग्न नपरेको भन्दै मन्त्री अधिकारीले आफु मलको दीर्घकालीन समस्या समाधानतर्फ लागेको बताए ।

किसानको दुधको रकम भुक्तानीमा देखिँदै आएको समस्यालाई आफूले गम्भीररुपमा लिएको बताउँदै मन्त्री अधिकारीले कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि कृषि ऐनलाई समय अनुकुल परिमार्जन गर्ने र कृषि विधेयकलाई चाँडै टुङ्गोमा पुर्याउन लागेको पनि जानकारी दिए ।

छलफलमा पूर्वसचिवहरुले नयाँ पुस्ता अनुकुल कृषिमा रुपान्तरण आवश्यक भएको, कृषिमा उपलब्ध अनुदानको मूल्यांकन आवश्यक भएको, तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको, बाँझो रहेका जग्गाबाट उत्पादनको व्यवस्था गर्नुपर्ने, कृषिमा विकास साझेदारहरुलाई आवश्यकताका आधारमा परिचालन गर्नूपर्ने लगायतका सुझावहरु दिएका थिए ।


क्लिकमान्डु