नेपाल टेलिकमले डाटा प्याक महँगो बनाएपछि अख्तियारले अनुसन्धान गर्दै



काठमाडौं । सरकारको ९० प्रतिशत स्वामित्व भएको नेपाल टेलिकमले डाटा प्याकको मुल्य बढाउने गरी रणनीति तय गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार डाटा प्याकको मुल्य बढाउने एनटीसीको रणनीतिले सरकारी स्वामित्वमारहेको कम्पनीको नाफा घट्नुका साथै समग्र मूल्याङ्कनमा समेत गिरावट आउँदै राज्यको सम्पत्तिको क्षयीकरण हुने भन्दै उजुरी परेपछी छानबिन सुरु गरिएको जानकारी दिए ।

अख्तियारले सञ्चार तथा सूचना प्रविधिमार्फत नेपाल टेलिकमसँग डाटा प्याक मुल्य हेरफेर गर्ने रणनीतिका विषयमा जवाफ माग्दै पत्राचार गरेको हो ।

पछिल्लो समय गाउँघरमा समते भ्वाइस कलभन्दा भिडियो कल गर्ने क्रम बढेकाले भ्वाइसभन्दा डाटाको प्रयोग बढीरहेको उजुरीकर्ताको जिकिर रहेको अख्तियारका अधिकारीले बताए ।

‘पछिल्लो केही वर्षयता भ्वाइसको कारोबार घटिरहेको तथ्यबाट डाटा महँगो बनाउने एनटीसीको रणनीतिले कम्पनीको व्यवसाय विस्तारमा सहयोग नगर्ने उजुरीकर्ताको आरोप छ,’ स्रोतले भन्यो, ‘एनटीसीले डाटा प्रवर्धन गर्न भनी प्रयोगमा ल्याइसकेका प्याकेजलाई हटाउँदै डाटाको महँगो प्याकेज निर्णय किन गर्यो भन्ने विषयमा हामीले चासो राखेका छौं । यो विषयमा सिधै भ्रष्ट्राचार गरेको तथ्य स्थापित नहुने भए पनि सरकारी कम्पनीलाई कमजोर बनाउने सम्भावना भएकाले अनुसन्धान गर्नु परेको हो।’

एनटीसीले डाटा प्याको मुल्य महँगो बनाउने गरी रणनीति तय गर्दा एनटीसीको डाटा नै प्रयोग गर्नेको संख्या घट्ने सम्भावना छ । टेलिकमले गत साउन १६ मा भ्वाइस र डेटातर्फका प्याकेज परिवर्तन गरेको थियो ।

बिगतमा ४९९ रुपैयाँमा २८ दिनसम्म दैनिक ७० मिनेट भ्वाईस कल, ७०० एमबी मोबाइल डाटा र ७० म्यासेज गर्न मिल्ने सजिलो कम्बो प्याक थियो । अहिले भने ४९९ रुपैयाँमा ८ जिबी डेटा, ५०० मिनेट भ्वाइस कल र १०० म्यासेज गर्न मिल्ने प्याक कार्यान्वयनमा आएको छ ।

यसअघि ४९९ रुपैयाँ तिरेर २८ दिनसम्म १९ जिबी भन्दा बढी डाटा प्रयोग गर्न र १९६० मिनेट भ्वाइस कल गर्न पाइन्यो ।

६९९ रुपैयाँको सजिलो कम्बो प्याक पनि एनटीसीका ग्राहकहरु माझ निकै चर्चीत थियो ।

यो प्याकमा २८ दिनसम्म दैनिक १ जिबी डाटा, १०० मिनेट कल तथा १०० म्यासेज प्रयोग गर्न पाइन्थो । अब ६९९ रुपैयाँमा १५ जिबी डाटा, अनलिमिटेड भ्वाइस र २०० एसएमएस प्रयोग गर्न पाइने भएको छ । यसअघी २८ जिबी डाटा र २८०० मिनेट भ्वाइस प्रयोग गर्न पाइन्थ्यो।

‘डाटाको प्रयोग बढीरहेको अवस्थामा डाटा बिक्री बढ्ने गरी प्याकेज नबनाई अनलिमिटेड भ्वाइस प्रयोग गर्ने मिल्ने गरी प्याक बनाउनु कम्पनीको हितमा देखिँदैन,’ अख्तियारका एक अधिकारीले भने, ‘कम्पनीले के सोचेर प्याक परिवर्तन गर्ने निर्णय गरेको रैछ भन्ने सोधपुछबाट पत्ता लाग्ला ।’

यस्तै, एनटीसीले यसअघि बिहान ६ बजेदेखि ५ बजेसम्म सस्तो मुल्यमा प्रयोग गर्न मिल्ने डाटा प्याकहरुसमेत हटाएको छ ।


क्लिकमान्डु