मानसरोवर जाने सडक वर्षभर चल्ने बनाउन अर्थमन्त्रीसँग स्थानीयको माग



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हुम्लाको सिमीकोट-लिमी-लाप्चा सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर छिट्टै सम्पन्न गर्ने बताएका छन् ।

लिमीका बासिन्दाहरुसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उक्त सडकलाई महत्व दिएर निर्माण सम्पन्न गर्ने बताएका हुन् ।

नेपालको सबैभन्दा ठूलो गाउँपालिका नाम्खामा पर्ने लिमी उपत्यकाबाट मानसरोवरको दर्शन गर्न सकिन्छ । अहिले प्रयोग भएको सडक ६ महिना चल्ने र हिउँ पर्न थालेपछि बन्द हुने भएकाले लिमीवासीले १२ महिना नै सञ्चालन हुने सडक बनाउन सरकारसँग माग गरेका थिए।

झन्डै ६ महिना यातायात सेवाबाट वञ्चित हुँदै आएका लिमी उपत्यकावासीहरु हिउँ पर्न थालेपछि राज्यको पहुँच बाहिर नै हुन्छन् । लिमी—लाप्चा र सिमीकोट–हिल्साको दुवै सडकखण्डका नारापास र न्यालुपास ५ हजार मिटर अग्लो उचाईमा रहेका कारण हिउँदको समयमा ६ महिना हिउँले ढाकिएर अवरुद्ध हुने भएकाले यसको विकल्पमा नाम्खा गाउँपालिकाको तुम्कोट खोलादेखि ककुवा हुँदै हिल्सासम्म करिव २९ किलोमिटर दूरीको कर्णाली नदीको तीरैतीर तुम्कोट लिमी हिल्सा खण्डको बाटो विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको हो ।

भेटका क्रममा सिंहदरबारमा अर्थमन्त्री पौडेलले सुरक्षा संवेदनशील र पर्यटकीय महत्व बोकेको लिमी उपत्यका र त्यहाँका बासिन्दालाई निराश नबनाइ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लिमी उपत्यकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । यस क्रममा पौडेलले हिल्सा नाकालाई सहज ढंगले आवतजावत गर्नसक्ने बनाउनुपर्ने पनि बताएका थिए ।

अर्थमन्त्रीलाई लिमी उपत्यकावासीले किसानलाई जीविकोपार्जनका लागि विशेष अनुदानको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् । पर्यटकीय उपत्यका भएकाले कैलाश मानसरोवर दर्शन गर्ने स्थानको लाप्चामा हाईलाईन पार्क (मन्दिर, गुम्बासहित दर्शन गर्न मिल्ने संरचना) बनाउन आवश्यक अध्ययन अनुसन्धानसहित बजेट व्यवस्थापन गर्न पनि स्थानीयको अनुरोध थियो ।

यसले पर्यटक प्रवर्द्धनमा मद्दत पुग्नुका साथै स्थानीयवासीको आय आर्जनमा वृद्धि हुने भएकाले जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा लिएको स्थानीयहरुको भनाइ छ । स्थानीयवासीले जलवायु परिवर्तनका कारण त्यहाँको जीवन पद्धतिमा आएको परिवर्तनका कारण स्थानीयवासी तथा जैविक सम्पदाहरु प्रभावित भएकाले ‘जलवायु न्याय विशेष कार्यक्रम’ सञ्चालन गर्न आग्रह गरेका छन् ।


क्लिकमान्डु