वायुसेवा निगमको ह्यांगरमा ३६ मिनेट आगलागी, घटना गुपचुप राख्ने प्रयास



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा निगमको ह्यांगरमा आगलागी भएको छ । शनिबार राति विमानस्थलभित्र रहेको निगमको ह्यांगरमा लागेको आगो ३६ मिनेटपछि नियन्त्रयणमा आएको थियो ।

ह्यांगरमा २ बजेर ४३ मिनेटमा लागेको आगो ३ बजेर १९ मिनेटमा मात्रै नियन्त्रणमा आएको विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए ।

यद्यपि आगलागीको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमले प्रतिक्रिया दिन चाहेनन् ।

उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगलागीको कुनै जानकारी नआएको र त्यस विषयमा कुनै सूचना पनि नभएकोले बुझ्नु पर्ने बताए।

त्यस्तै निगमका प्रवक्ता रमेश पौडेलले पनि आगलागीको घटनाका विषयमा आफूलाई जानकारी नभएको दाबी गरे ।

तर विमानस्थल स्रोतले भने निगमको ह्यांगलमा भएको आगलागी नियन्त्रणका फायर डिभिजनबाट एउटा दमकल गएर आगो नियन्त्रणमा लिएको दाबी गरे ।

‘वायुसेवा निगमको विमानस्थलभित्र रहेको ह्यांगरमा आगो लागेको विषय लगबुकमा पनि उल्लेख छ, ‘स्रोतले भन्यो, ‘२ बजेर ४३ मिनेटमा लागेको आगो तत्काल नियन्त्रणमा लिएको ३ बजेर १९ मिनेटमा लगबुकमा उल्लेख गरिएको विवरणमा उल्लेख छ ।’


क्लिकमान्डु