बढ्दो बजार र संस्थागततर्फको सीमा खारेजीले बैंकहरुमा सेयर कर्जा माग्ने फाइलको चाङ



काठमाडौं । बैंकहरुमा सेयर धितो कर्जा माग गर्नेको संख्या बढेको छ । बढ्दो बजार र नेपाल राष्ट्र बैंकले गरेको नीति सहजताका कारण बैंक तथा वित्तीय संस्थामा यस्तो कर्जा माग गर्नेको संख्या बढेको हो ।

ग्राहकहरु मार्जिन प्रकृतिका सेयर धितो कर्जा लिन बैंकमा आवेदन दिने क्रमबढेको हो । यसरी कर्जा माग गर्ने अघिकांश संस्थागत ग्राहक हुन् ।

एक बैंकरका अनुसार राष्ट्र बैंकले संस्थागत तर्फको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा हटाएपछि पछिल्लो समय संस्थागत ग्राहकहरु बढेका हुन् । साथै घरजग्गा, सुनलगायत सम्पत्ति धितोमा राखेर कर्जा लिन चाहेनको संख्या पनि उत्तिकै बढेको छ ।

उनले बैंकहरु कर्जा लगानी गर्न उत्साहित रहेका कारण पनि यस्ता कर्जा केही दिनमै पास हुने बताए ।

‘हामी पनि कर्जा दिन चाहन्छौं । सेयर कर्जा माग्न आउने ग्राहकको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ,’ ती बैंकरले भने, ‘मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले स्थिति सहज बनाएका कारण माग भएका कर्जा केही दिनमै प्रवाह हुनेछन् ।

पछिल्लो समय नेप्से परिसूचक बढिरहेका कारण सेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको छ । नयाँ गठबन्धन गठन भएलगत्तै उकालो लागेको सेयर बजार परिसूचकले रोकिने संकेत देखाएको छैन ।

यता केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् गरेको संस्थागततर्फ मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गर्ने उद्घोष अघिल्लो शुक्रबार एक परिपत्र ल्याएर कार्यान्वयनमा ल्याइसकेको छ ।

दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन, अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको मर्मअनुसार मौद्रिक नीति ल्याएपछि सेयर बजार निरन्तर बढिरहेको छ ।

त्यसमाथि गत मंगलबार १४५ अंकले घटे पनि त्यसयता नेप्सेमा करिब २०० अंकको सुधार आइसकेको छ ।

यस्तो स्थितिमा घरजग्गै धितोमा राखेर कर्जा लिइ बजारमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ ।


क्लिकमान्डु