स्ट्राटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा सिटिजन्स बैंकको वित्तीय सचेतना भिडियो सार्वजनिक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकमाझ सचेतना जगाउन ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ अभिप्राय साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरु एवं उच्च व्यवस्थापन उपस्थित रहेको स्ट्राटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बहानामा ग्राहकहरुसँग पासवर्ड, ओटीपी, खाताको विवरणहरु मागेर साथै ग्राहकहरुलाई चिठ्ठा तथा अन्य बहुमूल्य सामानहरु जित्नुभयो भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको सन्दर्भमा यो सचेतना भिडियो सार्वजनिक गरिएको हो ।

यो सचेतना भिडियोले पछिल्लो समय बढ्दै गरेका गैरकानुनी गतिविधिहरु न्युनीकरण गर्ने र ग्राहकहरुमा चेतना अभिवृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

स्ट्राटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउन सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान दिन र नवीनतम एवं नमुना सेवा दिँदै अघि बढ्न आग्रह गरेका छन् ।


क्लिकमान्डु