धितोपत्र बोर्डले ध्यान नदिँदा कम्पनी ऐनसँग नियमावली बाझियो: अध्यक्ष बराल



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले धितोपत्र बोर्डले ध्यान नदिँदा कम्पनी ऐनले पब्लिक कम्पनी हुन ३ वर्ष र सेबोनको नियमावलीमा २ वर्ष उल्लेख भएको बताएका छन् ।

बिहीबार अर्थसमितिको बैठकमा अध्यक्ष बरालले धितोपत्र बोर्डको नियमावली र कम्पनी ऐन बाझिएको बारेमा स्पष्टीकरण दिँदै बोर्डले ध्यान नदिँदा समस्या भएको बताएका हुन् ।

कम्पनी ऐनले पब्लिक कम्पनी हुन ३ वर्ष तोकेको छ तर बोर्डका पूर्वअध्यक्ष रमेश हमालले बोर्डको नियमावली संशोधन गर्दै २ वर्ष बनाइदिएपछि बिबाद सुरु भएको थियो ।

बोर्डमा कर्मचारीको गुटबन्दी हुँदा काम गर्न समस्या रहेको उनको भनाइ छ । कर्मचारीको क्षमता बढाउन, प्राविधिक क्षमता बढाउनेमा बोर्डले चासो नदिएको बताए ।

लेखा समितिले दिएको पत्रका कारण जलविद्युत कम्पनीको आईपीओ रोकिएको उनले बताए । नेप्से सरकारी भएर निजी कम्पनी जति प्रभावकारी काम हुन नसकेको उनी बताउँछन् । अहिले पुँजी बजारमा सूचीकृत कम्पनी, नियामक राजधानी केन्द्रित हुँदा समस्या भएको उनको भनाइ छ ।

लाभांश दिन नसक्ने कम्पनीको मूल्य किन बढिरहेको छ भन्नेमा आफू पनि अन्यौलमा रहेको उनले बताए ।

धितोपत्र बोर्डका अध्यक्ष बरालले बजार बढनुको कारण यही हो भनेर भन्न नसकिने बताएका छन् । बजार केही समयको अन्तरमा बढने र घट्ने गरेको भन्दै उनले अहिले नयाँ, बलियो सरकार भएर, वा राम्रो मौद्रिक नीति भएर बजार बढेको हुन सक्ने बताए ।


क्लिकमान्डु