सेबोनलाई सांसदका प्रश्नैप्रश्न: पाइपलाइनमा रहेका आईपीओ किन रोकेको ?



काठमाडौं । सांसदहरुले धितोपत्र बोर्ड(सेबोन) को कार्यशैलीमाथि प्रश्न गरेका छन् । बिहीबार अर्थसमिति बैठकमा सांसदहरुले धितोपत्र बोर्डको क्षमतामाथि प्रश्न उठाएका हुन् ।

सांसद जुली कुमारी महतोले धितोपत्र बोर्डको क्षमता भएर हो वा नभएर नेप्सेमा भर परेको भन्दै प्रश्न गरिन् ।

पाईपलाईनमा धेरै आईपीओ रहेको भए पनि त्यो रोकिएको भन्दै उनले त्यसको कारण माग गरिन् । अध्यक्ष नभएर रोकिएको हो वा नियतबस नै रोकेको भन्दै महतोले प्रश्न गरिन् ।

सेयर बजारमा एउटाले किन्ने र रेट बढाउने गरेको देखिएको उनको भनाइ छ । यसमा किन नियमन नभएको भन्दै उनले प्रश्न गरिन् ।

नयाँ स्टक निजीलाई दिनु गलत हुने र स्टक मार्केट सरकारको निगरानीमा हुनुपर्ने उनको भनाइ छ ।

सांसद नारायणी शर्माले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नगरेर कर्मचारीलाई अध्यक्ष बनाएर पठाउँदा काम प्रभावकारी हुन नसकेको बताइन् । एक ठाउँको कर्मचारी अर्को ठाँउमा जाँदा काम प्रभावरी हुन नसकेको उनको भनाइ छ ।

सरकार परिवर्तन हुनासाथ बजार बढने, केही समयदेखि आवश्यकताभन्दा बढी किन बजार बढेको भनेर प्रश्न उठेको उनको भनाइ छ ।

बजारको क्षमता कति हुँदा देशका लागि राम्रो हुने हो, बजार कस्तो हुने हो भनेर प्रश्न उठिरहेको उनले बताइन् । लामो समय किन आईपीओ रोकेको भन्दै प्रश्न गरिन् ।

सांसद छिरिङ लामाले धितोपत्र बोर्डका उच्च पदस्थ कर्मचारीले धेरै भ्रष्टाचार गरेको विषय चर्चामा रहेकोले उनीहरुमाथि कहिले छानबिन हुन्छ भन्दै प्रश्न गरे।


क्लिकमान्डु