माधव नेपालको आग्रह: हवाई सुरक्षाका लागि पूर्वाधार निर्माण गरियोस्



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गर्दछु ।’

बुधबार अपराह्न नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

पूर्वप्रधानमन्त्री नेपालले दुर्घटनामा दिवङ्गत पाइलट अरुण मल्ल र चिनियाँ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र चीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । उक्त दुर्घटनापछि नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारीहरुले चासो दिएका छन् ।

यससँगै दुर्घटनापछि उद्धारमा लापर्वाही गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु पनि आलोचित बनेका छन् ।


क्लिकमान्डु