उद्धारमा अस्वभाविक ढिलाइबारे क्यानका पदाधिकारीसँग मन्त्रीको छलफल, सुधार्न निर्देशन



मन्त्री पाण्डेले एक हप्ताभरका लागि अत्यावश्यक वाहेक पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम र भेटघाट स्थागित गर्दै हवाई सुरक्षाका विषयमा आवश्यक कदम चाल्ने तयारी गरेका छन्

काठमाडौं । साउन २३ गते बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको ९एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वभाविक ढिलाइ भएको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गम्भीर ध्यानाकषर्ण जनाएका छन् ।

यस सम्बन्धमा मन्त्री पाण्डेले नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायतका सम्बन्धित पदाधिकारीहरुसँग जानकारी लिँदै उनीहरुलाई आवश्यक सुधारका पहल गर्न निर्देशन समेत दिएका छन् ।

साथै क्यानका पदाधिकारीलाई सम्पर्क गर्दा प्राविधिक कारणले दुर्घटना यकिन गर्न केही समय लागेको र दुर्घटनास्थल पहिचान हुनासाथ प्रतिकुल मौसमका बाबजुद उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर पठाइएको र उक्त हेलिकप्टर फिर्ता हुन नसकी राति पनि सोही स्थानमै रहेको जानकारी गराएका थिए ।

करिब १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निस्कर्षसहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम प्राथिमकतामा राख्दै बिहीबारबाटै तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको हो।

मन्त्री पाण्डेले एक हप्ताभरका लागि पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रमहरुलाई स्थागित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्ने साथै मन्त्रालय र माताहतका निकायहरुलाई परिचालन गर्ने तयारी गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

यस्तै नेपाली उड्डयन क्षेत्रले भोग्नुपरेको यो असहजताको समाधानका लागि सहयोग र सुझावको अपेक्षा गर्दै हवाई सुरक्षाको सम्बन्धमा तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमका विषयमा मन्त्रालयले कुनै सुझाव वा जानकारी पनि आह्वान गरेको छ ।


क्लिकमान्डु