कांग्रेसमा गुटपिच्छेको किचलो: प्रदेश सरकारमा अझै सहभागी हुन सकेन



विराटनगर । नेतैपिच्छेका गुट र उपगुटको किचलोले मन्त्री बन्नेको नाम नटुंगिँदा कोशी प्रदेशमा कांग्रेस सरकारमा सहभागी हुन सकेको छैन ।

संघमा बनेको नेपाली कांग्रेस र एमालेको गठबन्धनपछि कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र हटेको दुईसाता हुन लाग्दा पनि कांग्रेस सरकारमा सहभागी हुन सकेको छैन ।

कोशी प्रदेश एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । त्यो सरकारमा एमाले माओवादी समीकरण रहँदा माओवादीका ३ मन्त्री र एक राज्यमन्त्री सहभागी थिए । उनीहरुले साउन ११ गते राजीनामा दिएर कांग्रेसलाई बाटो खुला गरिदिएका थिए ।

गत असार १७ गते नयाँ गठबन्धन (एमाले र कांग्रेस) बनेसँगै असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । संघमा बनेको समीकरणअनुसार कोशी प्रदेश सरकारमा पनि कांग्रेसलाई सहभागी हुन माओवादी साउन ११ गते सरकारबाट बाहिरिएको थियो।

मुख्यमन्त्री कार्की भने दुई सातादेखि कांग्रेसी मन्त्रीलाई सरकारमा सहभागी गराउ‍ पर्खेर बसेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘कांग्रेसले आज भोलि भन्दै मुख्यमन्त्री कार्कीलाई कुराएर बस्न बाध्य बनाउँदै आएको छ ।

एमाले माओवादी समीकरणमा माओवादीको भागमा प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास, पर्यटन वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय र एक राज्यमन्त्री परेको थियो ।

एमाले कांग्रेस समीकरणमा मूख्यमन्त्रीमा आलोपालो सहित माओवादीले पाएका तीन र थप कृषि मन्त्रालय कांग्रेसले पाउने सहमति भएको थियो । त्यसैगरी कांग्रेसले दुई राज्यमन्त्री पाउने दुई दलबीच आन्तरिक सहमति भएको बताइएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला गुट कोशीमा सक्रिय छ । कांग्रेसका एक केन्द्रीय नेताले क्लिकमान्डुसँग भने, ‘ शीर्ष तीन नेताका पनि छाउरा गुट र उपगुटले मन्त्री बन्ने उम्मेदवारको नाम छान्न सकस पार्दै आएका छन् ।’ कोशी प्रदेशमा कांग्रेसका २९ जना सांसद छन् । तिमध्ये दुईजना पूर्वमूख्यमन्त्री छन् । बाँकी रहेका २७ जना सांसद सबै मन्त्री बन्ने दौडमा रहँदा समस्या भएको हो ।

कांग्रेस र एमालेबीच प्रदेश सरकारमा कांग्रेसले चारवटा मन्त्रालय पाउने सहमति भए पनि कांग्रेसले मन्त्री बन्ने उम्मेदारको नाम छनोट गर्न नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो । चार मन्त्रालयमध्ये कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना मन्त्री बनाउने संस्थापन पक्षको तयारी रहेको स्रोतको भनाइ छ ।

तर कोइराला समूहले भने चार जनामध्ये २ जना आफूहरुले पाउनु पर्ने अडान राखेका कारण मन्त्री बन्ने उम्मेदवारको नाम छनोटमा समस्या भएको कांग्रेस नेताको भनाइ छ ।

कोइराला समूहबाट मन्त्री बन्ने दौडमा रामकुमार खत्री, मानबहादुर लिम्बू, गोविन्द गिरी र इन्दिरा थापा छन् । कोइरालालाई आफ्नो समूहबाटै मन्त्री बन्ने आकांक्षीको व्यवस्थापन गर्न गाह्रो बनेको कारण न्यूनतम २ जना मन्त्रीको माग गरिरहेको स्रोतको भनाइ छ ।

कोइराला समूहबाट मुख्य रूपमा चार जना मन्त्रीका आकांक्षी छन् । त्यसमध्ये १ जना छान्न गाह्रो भएको हो ।

त्यसकै कारण समूहबाट २ जना मन्त्री बनाउनु पर्ने अडान राखेको कोइराला समूहका एक नेताको भनाइ छ ।

देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम रहेका छन् । यसअघि ताप्लेजुङका प्रहरी प्रमुखलाई काटमारको धम्की दिएको घटनामा हाङ्गामको संलग्नता रहेको सार्वजनिक भएको थियो । कार्की अघिल्लो प्रदेशसभाको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए भने सुनुवार प्रदेशसभाको यही कार्यकालमा तीन पटक मन्त्री भइसकेका छन् ।

कोइराला गुटबाट मन्त्री बन्ने लाइनमा रहेका लिम्बु कोइराला गुटको पनि उपुगट सुनिल शर्मा समूहका नेता हुन् । उदयपुरका खत्री भने यसअघि दुई पटक मन्त्री बनेका छन् । केदार कार्की नेतृत्वको सरकारका पालामा उनी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका थिए । इलामका गिरी भने नयाँ अनुहार हुन् । थापा केदार कार्कीको नेतृत्वको सरकारको पालामा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री बनेकी थिइन् ।

यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा केन्द्रीय सदस्य समेत रहेका विराटनगर महानगरपालिकका पूर्वप्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष भुपेन्द्र राई छन् ।

दुईजना मध्ये एक जनालाई सिटौलाले मन्त्री बनाउने तयारी गरेको समूहका एक नेताले बताए । त्यसैगरी सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठ पनि मन्त्री बन्न शीर्ष नेताहरुको ढोका ढकढक्याउँदै छन्।


विनोद भण्डारी