बंगलादेशमा संसद्‍ विघटन, जतिसक्दो चाँडै चुनाव घोषणा गरिने



एजेन्सी । बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी भइरहँदा राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संसद विघटन गर्दै नयाँ आम निर्वाचनको लागि बाटो खुला गरेका छन् ।

जुन संसद्‍ जनवरी ७ मा शेख हसिनाको नेतृत्वको सरकारले गराएको निर्वाचनबाट स्थापित भएको थियो । जुन निर्वाचन प्रतिपक्षीबिना गराएको भन्दै विवादित पनि बनेको थियो ।

सशस्त्र बलहरुका तीन संगठनका प्रमुख, विभिन्न राजनीतिक दलहरुका नेताहरु, नागरिक समाजका प्रतिनिधिहरु र विद्यार्थी आन्दोलनका अगुवाहरुको समर्थनमा संसद्‍ विघटनको निर्णय गरिएको बताइएको छ ।
यससँगै पूर्वप्रधानमन्त्री खालिदा जियालाई पनि जेलमुक्त गरिएको छ ।

यस्तै जुलाइ १ देखि अगस्टसम्म प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको रिहाइको प्रक्रिया पनि सुरु गरिएको छ । तीमध्ये धेरैजसो रिहा भइसकेका छन् ।

अब बंगलादेशको संविधान अनुसार यसरी भएको संसद्‍ विघटनको अवस्थामा अब ९० दिनभित्र आम निर्वाचन घोषणा गर्नुपर्ने छ । राष्ट्रपति शाहबुद्दीनले भने संसद्‍ विघटनपछि जतिसक्दो चाँडै निर्वाचन घोषणा गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच विद्यार्थी आन्दोलनका केही अगुवाहरुले भने नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिनु्पर्ने धारणा राखेका छन् । युनुस भने यतिबेला फ्रान्समा छन् । र उनले आफूले सरकारको नेतृत्व गर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

अर्कोतर्फ सेनाले सत्ता सञ्चालन गर्छ कि भनेर आशंका पनि व्यक्त हुन थालेका छन् । विगतमा पटकपटक सत्ताकब्जा गरेको सेनाप्रति आम नागरिकले भरोसा र सम्मान गरे पनि राजनीतिक दल संगठनहरुले संशयसाथ हेर्ने गरेका छन् ।

बंगलादेशमा लगातार १५ वर्षदेखि कडा रुपमा शासन चलाउँदै आएकी शेख हसिना सोमबार आन्दोलनको दबाब झेल्न नसकेपछि देश नै छाडेर भागेकी थिइन् । हसिनाको वहिर्गमनले बंगलादेशको राजनीतिक व्यवस्थाले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु