सेयर बजारमा रेकर्ड: पौने २४ अर्बको कारोबार, नेप्से १४५ अंकले घट्दा २३३ कम्पनीको मूल्य गिरावट



काठमाडौं । सेयर बजारमा कारोबार रकमले रेकर्ड राखेको छ । मंगलबार धितोपत्रको दोस्रो बजारमा पौने २४ अर्बको कारोबार भएको हो ।

यसअघि गत बिहीबार २१ अर्ब ९१ करोडको कारोबार भएर रेकर्ड कायम भएकामा मंगलबार तोडिएको हो । यस दिन बजारमा ५ करोड ३८ लाख कित्ता सेयर २३ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको हो ।

सेयर बजारमा रकर्ड कारोबार भएको दिन नेप्से परिसूचक १४५.०५ अंकले घटेको छ । नेप्से परिसूचक एकैदिन ५.१८ प्रतिशतले घटेको हो ।

नेप्से घट्ने क्रममा ८ कम्पनीको मात्र मूल्य बढेको छ । २ सय ३३ कम्पनीका सेयरधनीले भने गुमाएका छन् ।

सेयर बजार मंगलबार कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो ।

नेप्से घट्ने क्रममा मंगलबार २ लाख ७२ हजार कारोबारमार्फत् ३२२ स्क्रिप्टको ५ करोड ३८ लाख कित्ता सेयर किनबेच भएको हो ।

सेयर मूल्य घट्ने २३३ कम्पनीमध्ये एक दर्जन कम्पनीको भाउ करिब १० प्रतिशतले गिरावट आएको हो । नेप्से घटे पनि थ्रीस्टार हाइड्रोको मूल्यमा भने पोजिटिभ सर्किट लागेको छ । यस्तै कुथेली बुखारी स्मल हाइड्रोका लगानीकर्ताले पनि ९.९७ प्रतिशत कमाएका छन् ।

पौने २४ अर्बको कारोबार भएको दिन सबैभन्दा बढी सेयर किनबेच हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको १ अर्ब ३९ करोडको सेयर किनबेच भएको हो । सेयर संख्या र कारोबार संख्याको आधारमा पनि हिमालयन रि नै अगाडि छ ।

नेप्सेमा भारी गिरावट आएको दिन सेन्सिटिभ इन्डेक्स ५.५३ प्रतिशतले घटेर ४६४.५६ अंकमा कायम भएको छ । यस्तै समूहगत उपसूचकतर्फ सबै समुहमा गिरावट आएको छ । सबैभन्दा बढी गिरावट फाइनान्स र होटल समूहमा ८ प्रतिशतभन्दा बढीको गिरावट आएको हो । बैंकिङ समूहमा पनि करिब ७ प्रतिशतको गिरावट आयो ।


क्लिकमान्डु