नेपालमा सेयर बजार उकालो लाग्दा एसियाली बजार ओरालो



एजेन्सी । पछिल्लो साता विश्वभर सेयर बजार ओरालो लागेका छन् । सोमबार एसियाली बजारमा पनि त्यसको असर देखियो । र एसियाका प्रमुख देशमा सेयर बजारमा पनि गिरावट देखिन थालेको छ ।

भारतीय बजारमा हालै एकैपटक ७२०.४० अंकको गिरावट देखिएको छ । पछिल्लो पटक निफ्टीमा ७२० र सेन्सेक्समा २२०० अंकको गिरावट देखियो ।

एसियाको बलियो अर्थतन्त्र भएको जापानको सेयर बजारमा पनि तीब्र रुपमा गिरावट आएको छ । जापानको सेयर सूचकांक निक्की २२५ मा ७.३ प्रतिशतको गिरावट देखियो । यस्तै ताइवानको मुख्य सेयर सूचकांकमा ७.७ प्रतिशतको गिरावट आयो ।

यस्तै यसैबीच सामसुङ कम्पनीसहित चिप बनाउने अरु कम्पनीहरुको कारोबारमा पनि कमी आएको बताइएको छ । जसका कारण दक्षिण कोरियाको कोस्पी सूचकांकमा ६.६ प्रतिशतको गिरावट आएको छ । जवकि हङकङको हेङसेङमा ०.२ प्रतिशतको मात्र गिरावट आएको छ ।

यससँगै क्रिप्टोकरेन्सीमा पनि गिरावट देखिएको छ । एक बिटक्वाइनको मूल्य ५३ हजार अमेरिकी डलरको बराबर पुगेको बताइएको छ । जुन गत फेब्रुअरीपछि सबैभन्दा न्यून हो ।

शुक्रबार अमेरिकाले रोजगारीको तथ्यांक सार्वजनिक गरेपछि न्युयोर्कको सेयर बजारमा पनि भारी गिरावट देखियो । रोजगारीको तथ्यांक सार्वजनिक गरेपछि विश्वकको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकामा मन्दीको आशंका पैदा भएको बताइन्छ ।

चीनको सेयर बजार सूचकांक संघाइ स्टक एक्सचेन्जमा भने सामान्य वृद्धि भएको छ ।

तर एसियाकै नेपालको सेयर बजारमा भने उकालो लागेको छ । विशेषगरी नयाँ सरकार गठन भएपछि र राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि नेपालको सेयर बजारमा तीब्र गतिमा वृद्धि भएको छ ।

नयाँ सरकार गठन भएपछि सेयर बजार करिब ६ सय अंकले बढेको छ । यसैगरी राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेलगत्तै सेयर बजार एकै दिन ११३ अंकले बढेको थियो ।

पछिल्लो बिहीबार नेप्से सूचक २७५५ बिन्दुमा पुगेको थियो । राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताको २० करोडको सीमा घटाएपछि तीब्र गतिमा सेयरमा वृद्धि भएको विश्लेशकहरु बताउँछन् ।


क्लिकमान्डु