पूर्वाधार क्षेत्रको विकास विना मुलुकमा विकास हुन्नः प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार क्षेत्रको विकास विना मुलुकको विकास नहुने बताएका छन् । विकासको पहिलो प्रथमिकता पूर्वाधार क्षेत्र हो भन्दै ओलीले उक्त क्षेत्रको विकास विना मुलुकलाई विकाशको बाटोमा हिँडाउन नसकिने बताए।

सडक विभागको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वाधार विकाशको लागि अन्तर मन्त्रालयसँग समन्वय गरी कानुनी जटिलता हटाउन आफू सहयोग गर्ने पनि बताए । उनले २०४६ सालपछि नेपालमा पूर्वाधारको क्षेत्रमा ठूलो विकास भएको दाबी गरे । अब नेपालको कुनै जिल्ला दुर्गम न भएको भन्दै आफ्नो कार्यकालमा पूर्वाधार विकाशको काम धेरै भएको बताए ।

फास्ट ट्रयाक, हुलाकी राजमार्गको अवस्था एकादेशको कथा जस्तै भएको भन्दै ती दुवैलाई आफ्नो कार्यकालमा प्रथमिकता दिएर अघि बढाइएको दाबी पनि ओलीले गरे ।

कार्यक्रममा नेपालको उद्योगहरु निजीकरण गर्दा मुलुकले ठूलो मूल्य चुकाएको बताउँदै उनले उद्योगको जग्गा समेत बेचेर खाएको आरोप लगाए । प्रधानमन्त्री ओलीले केही उद्योग पुन,ः सञ्चालनमा ल्याउने तयारी भई रहेको जानकारी दिए ।

उनले दुर्घटना कम हुने, छोटो बाटो अनि अत्यधिक जनतालाई लाभ हुने गरी सडक निर्माण गर्न निर्देशन दिँदै त्यस्तो सडक निर्माण गर्दा आउने समस्या समाधान गर्न आफू तयार रहेको बताए । नेपाल सुरुङमार्ग दसकमा प्रवेश गरेको भन्दै उनले १ लेनको सडक निर्माण न गर्न सुझाव दिँदै वन मन्त्रालयसंग सहकार्य गरेर पहिरो न जाने प्रविधि व्यवहारमा ल्याउन मन्त्रालयलाई सुझाव दिए ।

प्रधानमन्त्री ओलीले नयाँ पूर्वाधारको योजनाभन्दा पुरानो पूर्वाधारको योजनालाई सम्पन्न गर्न निर्देशन पनि दिए । वर्षमा १ प्रतिशत मात्र प्रगति देखिने गरी काम नगर्न निर्देशन दिँदै खोला किनारमा खान जोत हुने गरी काम न गर्न पनि उनले निर्देशन दिए ।

गोष्ठीमा ढुवानीको लागत खर्च घटाउन, सुरक्षित ढुवानी गर्न, प्रदूषण कम गर्नका लागि भारतसँग सहकार्य गरी जल यातायातलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माण गर्न पनि उनले निर्देशन दिए ।

त्यस्तै रेलवे सेवा पनि नेपालमा आवश्यक भएको भन्दै उनले रेलवे अनि जल यातायातले नेपाललाई नयाँ युगमा प्रवेश गर्ने बताए । ओलीले गलत मनसाय राखेर काम नगर्न निर्देशन दिँदै सही मनसाय राखेर काम गर्दा कुनै त्रुटि हुन गए आफू सहयोग गर्न तयार रहेको बताउँदै सुरक्षित वातावरणमा काम गर्न निर्देशन समेत दिएका छन् ।


क्लिकमान्डु