बालेनलाई पूर्वमेयर विद्यासुन्दर शाक्यको चेतावनी: नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन (भिडियो)



‘त्यसबेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औं स्थानमा राखेको थियो । अहिले महानगर नेतृत्वले हैसिय अनुसार काम गर्न नसक्दा झारेर १७ औं स्थानमा पुर्‍याएको छ ।’

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले वर्तमान महानगर प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै हैसियत अनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको आरोप लगाएका छन् ।

शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उनले हालका मेयर बालेन्द्र शाहप्रति कटाक्ष गरे ।

यस क्रममा शाक्यले वर्तमान महानगर प्रमुख शाहलाई लक्षित गर्दै नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने चेतावनी दिएका थिए । साथै न्युरोडको विवाद र घटना स्मरण गर्दै शाक्यले महानगर नेतृत्वले स्थानीयको इच्छाविपरीत काम गरिरहेको बताए ।

शाक्यले बालेन्द्र शाहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताएका थिए । अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुन नहुने भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरु गरेको उल्लेख गर्दै पूर्वमेयर शाक्यले महानगरको गरिमा जोगाएको बताएका थिए । शाक्यले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको तर अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको भन्दै उनले यसमा नगर प्रमुख शाह जिम्मेवार रहेको संकेत गरेका थिए ।

‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन् । त्यसमा हामीले चिन्ता लिनु पर्दैन । हामी काठमाडौं महानगरको मेयरको रुमपा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो,’ पूर्वमेयर शाक्यले भने ।

अहिले महानगरको नेतृत्वले हैसियत अनुसार काम गर्न नसक्दा यसको गरिमा खस्किएको उनको भनाइ थियो । यस्तै देशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखले आफ्नो हैसियत बुझेर काम गर्नु पर्ने पनि उनको सुझाव थियो ।

शाक्यले भनेका छन्, ‘त्यसबेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औं स्थानमा राखेको थियो । अहिले महानगर नेतृत्वले हैसिय अनुसार काम गर्न नसक्दा झारेर १७ औं स्थानमा पुर्‍याएको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ ।’

शाक्यले स्थानीयको इच्छा विपरीत काठमाडौं महानगरले काम गरिरहेको पनि गुनासो गरेका थिए । न्युरोडमा भएको विवादको प्रसंग दिँदै उनले नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको बताएका थिए । अहिलेका मेयरले नगर प्रहरीलाई लाठी बोक्ने काममा लगाएको र नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने उनले बताए । नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै यति संख्यामा आवश्यकता नरहेको पनि उनको तर्क थियो ।


क्लिकमान्डु