पर्यटन बोर्डले जित्यो ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’ को अवार्ड



काठमाडौं । नेपाल पर्यटन बोर्डले ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘वेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधि प्राप्त गरेको छ।

ट्राभल वर्ल्ड अनलाइन (टीडब्लुओ) ले भारतको नयाँ दिल्लीमा साउन १८ गते (२ अगस्ट २०२४) दिल्लीको सूर्यामा आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डलाई ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’ को रूपमा सम्मान गरिएको हो ।

‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ अवार्ड ग्रहण गर्दै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले यो सम्मानले नेपाल पर्यटकमैत्री गन्तव्य हो भने सन्देश विश्वभर फैलाउन सहयोग पुगेको र यसले नेपालको समग्र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

‘यो अवार्ड पाउँदा हामी गौरवान्वित भएका छौं । नेपाल पर्यटन बोर्ड यस उपलब्धिमा योगदान पुर्‍याउने सबै साझेदारहरू र सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै हामी पर्यटकहरूलाई नेपालको विविधतायुक्त पर्यटनको अनुभव र नेपाली आतिथ्यताको लागि आमन्त्रण गदैछौं’ उनले भने । नेपालको यो प्रतिष्ठालाई कायम राख्न आफूहरु सधैं प्रयत्नशील रहने उनले बताए ।

अवार्ड समारोहमा पर्यटन उद्योगमा उत्कृष्टता र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

जस अन्तगर्त बेस्ट वेलनेस रिसोट कैराली (आयुर्वेदिक उपचार गाउँ) भारत, उत्कृष्ट इनबाउन्ड अपरेटरमा क्रिएटिभ ट्राभल भारत , सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय पर्यटन बोर्डमा श्रीलंका पर्यटन प्रवद्र्धन ब्यूरो, उत्कृष्ट उदीयमान पर्यटन गन्तव्य (अन्तर्राष्ट्रिय) अजरबैजान पर्यटन, बेस्ट डोमेस्टिक टुर अपरेटरमा सदर्न ट्राभल भारत,उत्कृष्ट दिगो राज्यमा मध्य प्रदेश पर्यटन बोर्डलाई सम्मान गरिएको थियो ।

अवार्ड समारोहमा प्रमुख सरोकारवालाहरू, उद्योगका अगुवाहरू, सरकारी प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सम्मानित निर्णायक मण्डलको अध्यक्षता आइसीटीका पूर्व कार्यकारी निर्देशक नकुल आनन्द र पूर्व पर्यटन सचिव एमपी बेजबरुआ, विनोद जुत्शी, र लगायतले यो अवार्डले विश्वभरका पर्यटन संघ संस्था तथा व्यवसायीहरूको समर्पण र कडा परिश्रमलाई मान्यता दिनु रहेको बताउँदै पुरस्कृत सबैलाई बधाई दिए ।


क्लिकमान्डु