वारेन बफेटको कम्पनी बर्कसायरद्वारा एप्पलको ५०% हिस्सेदारी कटौती



एजेन्सी । अमेरिकी अर्बपति वारेन बफेटको कम्पनी बर्कसायर ह्याथवेले एप्पल कम्पनीमा आफ्नो झण्डै ५० प्रतिशत हिस्सेदारी कटौती गरेको छ । शनिबार सार्वजनिक भएको बर्कसायरको दोस्रो त्रैमासिक रिपोर्टमा यसबारे जानकारी दिइएको छ ।

यससँगै बर्कसायर ह्याथवेले त्रैमासिकको अन्त्यमा एप्पल कम्पनीमा आफ्नो ८४ अर्ब २० करोड अमेरिकी डलरको हिस्सेदारी रहेको पनि खुलासा गरेको छ । जुन ७९ करोड सेयर ४० करोडमा झरेको थियो ।

यस्तै लामो समयसम्म आफ्नो सेयर होल्ड गरिराख्ने उद्यमीको रुपमा परिचित बफेटको तीब्र सेयर बिक्रीलाई चासोका साथ हेरिएको छ । यद्यपि एप्पलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि २०२३ को अन्तिम त्रैमासिकमा बर्कसायर ह्याथवेले एप्पलको १ करोडको सेयर बिक्री गरेको थियो । जुन कम्पनीमा ह्याथवेको १ प्रतिशतको हिस्सेदारी थियो । यस्तै २०२४ को पहिलो त्रैमासिकमा बर्कसायरले एप्पलमा आफ्नो १३ प्रतिशत सेयर कटौती गरेको थियो ।

२०२४ को दोस्रो त्रैमासिकमा भने ह्याथवेले ७५ अर्ब ५० करोड मूल्य बराबरको सेयर बिक्री गरेको छ । एप्पलसँगै ह्याथवेले आफ्नो अर्को ठूलो लगानी रहेको बैंक अफ अमेरिकामा पनि सेयर कटौती गर्दै ४१ अर्ब १० करोडमा सीमित गरेको छ ।


क्लिकमान्डु