अर्थतन्त्र सुस्त हुँदा पनि बिजनेसमा आक्रामक ६ बैंकः कुनको निक्षेप संकलन कति ? कति दिए ऋण ?



काठमाडौं । सुस्त अर्थतन्त्रका बाबजुत पनि गत आर्थिक वर्ष आधा दर्जन वाणिज्य बैंकहरुले आक्रामक रुपमा व्यवसाय विस्तार गरेका छन् । यी बैंकले वाणिज्य बैंकहरुको औसत निक्षेप र कर्जा विस्तारभन्दा बढीले बढाएका हुन् ।

गत वर्ष आक्रामक व्यवसाय विस्तार गर्ने बैंकहरु ३ सरकारी, २ निजी र एक संयुक्त लगानीको बैंक हुन् । तथ्यांकले राष्ट्रिय वाणिज्य, कृषि, नेपाल, नबिल, प्राइभ र एभरेष्ट बैंक अत्यधिक आक्रमक रहेको देखाउँछ ।

आर्थिक वर्ष २०८०÷८१ को तथ्यांकअनुसार २० वाणिज्य बैंकको निक्षेप र कर्जा विस्तार दर क्रमशः १३.१५ र ५.८६ प्रतिशत छ । तर, यी ६ बैंकको निक्षेप वृद्धिदर २१ प्रतिशत र कर्जा विस्तारदर १२ प्रतिशत रहेको छ ।

यसैगरी आर्थिक वर्षभर बढेको निक्षेपमा यी बैंकको हिस्सा ४८ प्रतिशत तथा कर्जा ६२ प्रतिशत रहेको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका २० बैंकले निक्षेप ६ खर्ब ६९ अर्बले तथा कर्जा २ खर्ब ५२ अर्ब रुपैयाँले बढाएका छन् ।

यसमध्ये ६ बैंकले नै ३ खर्ब २५ अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन् भने १ खर्ब ५५ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । यी ६ बैंकले बढाएको निक्षेपको हिस्सा २० बैंकले वर्षभर संकलन गरेको निक्षेपको ४८ प्रतिशत हो भने कर्जाको हिस्सा ६२ प्रतिशत हो ।

सरकारले गत आर्थिक वर्षमा ३.८६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न नेपाल राष्ट्र बैंकले कर्जाको वृद्धिदर ११.५ प्रतिशत हासिल गर्ने लक्ष्य राखेको थियो । अर्थतन्त्रमा छाएको सुस्ततका माझ पुँजी कोष अनुपातमा रहेको दबाबका कारण कतिपय बैंकहरु थप ऋण दिन नसक्ने अवस्थामा पुगेका बेला पुँजीकोषमा कम दबाब भएका कारण व्यवसाय विस्तारमा यी ६ बैंकले आक्रामक रणनीति अपनाएको देखिन्छ । त्यसो त अर्थतन्त्रमा देखिएको सुस्तताका कारण कर्जाको माग बढ्न सकिरहेको छैन ।

६ मध्ये ३ सरकारी बैंकमा प्राथमिक पुँजीकोष दबाबमा छैनन् । नबिल र प्राइम गत आवमा निकै आक्रमक देखिएका छन् । यता एभरेष्टले आफ्नो गतिलाई निरन्तरता दिएको छ ।

कुन बैंकको कर्जा तथा निक्षेप विस्तार र दर कति ?
अर्थतन्त्रमा छाएको सुस्तताका बाबजुद पनि चार बैंकले बैंकले राष्ट्र बैंकले लिएको कर्जा विस्तारको लक्ष्यभन्दा बढी ऋण दिएका छन् । कर्जा विस्तार दर प्राइम बैंकको १८.९०, नबिलको १३.७४, कृषि विकास बैंकको १३.०५ र नेपालको ११.५७ प्रतिशत रहेको छ ।

यसैगरी एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको कर्जा वृद्धिदर क्रमशः १०.९३ र ५.४१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रकमका आधारमा सबैभन्दा धेरै कर्जा नबिल बैंकले बढाएको छ भने प्रतिशतका आधारमा प्राइम बैंकले ।

नबिलले एकैसालमा ४७ अर्ब रुपैयाँ बराबरको कर्जा थप गर्दा प्राइमले ३१ अर्ब, कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ र एभरेष्टले १८ अर्बले विस्तार गरेको छ ।

नबिलको कर्जा ३ खर्ब ४१ अर्बबाट बढेर ३ खर्ब ८८ अर्ब पुगेको छ । कर्जा प्रवाहको हिसाबले नबिल ग्लोबलभन्दा २ अर्बले कम रही दोस्रो स्थानमा छ ।

प्राइमको कर्जा १ खर्ब ६३ अर्बबाट बढेर १ खर्ब ९४ अर्ब रुपैयाँ र कृषि विकासको १ खर्ब ८३ अर्बबाट २ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेपतर्फ वाणिज्य बैंक निकै आक्रामक देखिएको छ । बैंकले १ वर्षमै १ खर्ब रुपैयाँभन्दा बढी निक्षेप बढाएको छ जुन कार्यमा राष्ट्रिय वाणिज्य एक्लो बैंक पनि हो ।

आरबीबीले ३ खर्ब २२ अर्बबाट करिब एक तिहाइले कर्जा विस्तार गरेर तेस्रो ठूलो निक्षेप भएको बैंक बनेको छ । बैंकको कर्जा १ खर्ब ६ अर्बले बढेर ४ खर्ब २९ अर्ब भएको हो ।

वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदरभन्दा यी ६ वटै बैंकको वृद्धिदर बढी छ । यस अवधिमा कृषि विकासको निक्षेप २२.०९, एभरेष्टको १७.१५, नबिलको १६.४२, नेपालको १५.३५ र प्राइमको २०.६८ प्रतिशतले बढेको छ ।

कृषिको निक्षेप २ खर्ब रुपैयाँबाट ४४ अर्बले बढेर २ खर्ब ४४ अर्ब, एभरेष्टको १ खर्ब ९९ अर्बबाट ३४ अर्बले बढेर २ खर्ब ३३ अर्ब, नबिलको ४ खर्ब ३ अर्बबाट ६६ अर्बले बढेर ४ खर्ब ६९ अर्ब, नेपालको २ खर्ब ४५ अर्बबाट ३८ अर्बले बढेर २ खर्ब ८३ अर्ब रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु