नयाँ बिलिङ प्रणालीमा जाँदै टेलिकम, चिनियाँ प्रविधि विस्थापित गरी अमेरिकी भित्र्याउँदै



काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम राजस्व चुहावट रोक्न टेलिकममा नयाँ बिलिङ प्रणालीमा जाने भएको छ । टेलिकमको बिलिङ प्रणालीलाई सुधार गर्न, ११ प्रतिशतसम्म राजस्व चुहावट हुने गरेकोले त्यसलाई रोक्न र समय सान्दर्भिक प्रविधिको प्रयोग गर्न नयाँ बिलिङ प्रणालीमा जाने गरी प्रस्ताव मागेको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले बिलिङ प्रणालीका लागि मागिएको प्रस्तावमा एक अमेरिकी कम्पनी जीएफजी इन्टरप्राइजेजको मात्रै प्रस्ताव परेको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार नयाँ बिलिङ प्रणालीको लागि बुधबार खोलिएको उक्त प्रस्तावमा एउटा मात्रै कम्पनीको आवेदन परेको छ ।

अब यही कम्पनीको प्रस्तावलाई प्राविधिक तथा आर्थिक रुपमा मूल्यांकन हुने र उपयुक्त ठहर भएमा बिलिङ प्रणालीको ठेक्का पाउने पनि ढकालले बताए । टेलिकमले ईबिडिङ गरेकोले सार्वजनिक खरिद अनुसार दुईभन्दा बढी कम्पनीसँग प्रतिस्पर्धा गराउनुपर्ने र एउटा मात्रै परेको अवस्थामा पनि पुनः प्रस्ताव भने माग्नुपर्ने हुँदैन ।

नयाँ कम्पनीले ठेक्का पाएपछि यसले हाल भइरहेको बिलिङ प्रोसेसको जिम्मा पाउँछ । टेलिकमले साढे ४ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का यो बिलिङ प्रणालीको लागि गरेको छ । यसको लागत साढे ४ अर्ब भन्दा बढी रहेको छ ।

नयाँ कम्पनीले ठेक्का पाउने भएसँगै अब टेलिकमबाट चिनियाँ प्रविधि विस्थापित गरेर अमेरिकी भित्र्ने भएको छ । हाल टेलिकमले चिनियाँ कम्पनी हुवावेको बिलिङ प्रविधि प्रयोग गर्दै आइरहेको छ । नयाँ ठेक्का भने चिनियाँ कम्पनी प्रवेश नै नगरेकोले अब टेलिकमको बिलिङमा अमेरिकी कम्पनीको प्रवेश हुने भएको छ ।

टेलिकमका अनुसार अहिले हालको विलिङ प्रणालीमा प्रयोग भएको कम्प्युटर सफ्टवेयर अमेरिकी कम्पनीको छ । बिलिङ प्रणालीको लागि आवश्यक सफ्टवेयहरु अमेरिकी कम्पनीको प्रयोग हुन थालिककेकोले यसले चिनियाँ कम्पनीलाई सपोर्ट नगर्ने भएकोले पनि टेलिकमले मागको प्रस्तावमा चिनियाँले ठेक्का नै नहालेको बताइएको छ ।


क्लिकमान्डु