कर्णालीमा ३ सय ११ सहकारी, संयुक्त पुँजी १५ अर्ब



सबैभन्दा धेरै १ सय २ सहकारी सुर्खेतमा दर्ता भएका छन् । र कर्णालीका सबै सहकारीले १ हजार ५ सय जनालाई रोजगारी दिएका छन् ।

कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीहरुको संयुक्त पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ ।

१० जिल्ला तथा दुईभन्दा बढी स्थानीय तहलाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए । ती सहकारीको सेयर पुँजी रु एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत रु आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ छ ।

११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० रुपैयाँ ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा ७१ करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको सुवेदीले बताए । रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका एक हजार पाँच सय जनशक्तिले रोजगारी प्राप्त गरेको पनि जानकारी दिए ।

कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका १ सय २, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेको उनले बताए ।


क्लिकमान्डु