बचतकर्ता ठग्ने डिल्लीबजार पिपलबोट सहकारीका अध्यक्ष पक्राउ, १० जना फरार



काठमाडौं । काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा रहेको डिल्लीबजार पिपलबोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश बानिया सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उदयपुर जिल्ला कटारी नगरपालिका–२ का बानिया सहकारी ठगीमा पक्राउ परेका हुन् ।

सहकारीबाट बचतकर्ता ठग्ने अन्य १० जना भने फरार रहेका छन् । बचतकर्ता ठगेर फरार हुनेमा सहकारीका उपाध्यक्ष उदयपुर जिल्ला कटारी नगरपालिका–३ की विनिता पौडेल, सहकारीका कोषाध्यक्ष सिन्धुपाल्चोक जिल्लाका उज्वल लामा, सहकारीका सदस्य उदयपुर जिल्ला कटारी नगरपालिका–३ का मदन कार्की फरार रहेका छन् ।

सहकारीका सदस्य सिन्धुली जिल्ला दुधौली नगरपालिका–५ का सागर काफ्ले, सहकारीका सदस्य ओखलढुंगा जिल्ला साविकको ज्यामिरे गाविस–१ का कुल बहादुर बानिया, सहकारीका सदस्य मोरङ जिल्ला कानेपोखरी गाँउपालिका–३ का गंगादेवी बुढाथोकी, सहकरीका लेखा समिति संयोजक सिन्धुली जिल्ला तीनपाटा गाँउपालिका–९ की सृजना आचार्य, सहकारीका लेखा समिति सदस्य खोटाङ जिल्ला हलेसीतुवाचुङ नगरपालिका–१ की सिता अधिकारी, सहकारीका लेखा समिति सदस्य सिन्धुली जिल्ला दुधौली नगरपालिका–७ का प्रदिप पौडेल र सहकारीको लेखा समिति सदस्य दोलखा जिल्ला मेलुङ गाँउपालिका–७ का राम बहादुर श्रेष्ठ पनि फरार रहेका छन् ।

उनीहरुले बचतकर्ताको ८ लाख ६१ हजार २०९ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सबैलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ बिपरीत सोही दफाको उपदफा २ बमोजिमको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ बमोजिम सजाय माग दाबी गरिएको छ । संहिताको दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ मा ७ वर्ष कैद र ७० हजार जरिवाना लाग्ने व्यवस्था रहेको छ ।


क्लिकमान्डु