१ लाख बीवाईडीलाई विश्‍वभर उबर बनाइने, युरोप र ल्याटिन अमेरिकाबाट सुरु



एजेन्सी । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले विश्वव्यापी रुपमा आफ्ना विद्युतीय सवारीहरुलाई उबर (भाडामा राइड सेयर गराउने प्लेटफर्म) को रुपमा प्रयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले उबरसँग सम्झौता गर्दै आफ्ना १ लाख नयाँ ईभीहरुलाई प्रारम्भिक चरणमा युरोप र ल्याटिन अमेरिकी देशहरुमा उपलब्ध गराउने घोषणा गरेको छ ।

साथै यसलाई बीवाईडीले सुलभ मूल्यमा मध्यपूर्व, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि उबरमा आफ्ना गाडी उपलब्ध गराउने जनाएको छ । स्टिकर मूल्य र उधारो लागतले गर्दा पछिल्लो २ वर्षयता उबरमा ईभी प्रयोग गर्न अवरोध भइरहेको थियो । जसकारण सवारीको अपेक्षाभन्दा न्युन माग भइरहेको छ ।

यसबीचमा जलवायु परिवर्तनका लागि कम योगदान तथा वातावरण सरसफाइमा भूमिका खेल्न भन्दै विद्युतीय सवारी प्रयोग गर्ने प्रचलन बढिरहँदा बीवाईडीले नयाँ योजना ल्याएको हो । यद्यपि चीनमा उत्पादन भएका कारहरुमाथि युरोपमा लगाइएको अतिरिक्त भन्सार शुल्कको असर बीवाईडीले पनि सामना गरिरहेको छ ।

यसैबीच बीवाईडी र उबरले चालकहरुलाई बजारको आधारमा चार्जिङ, मर्मत लगायतका सुविधामा नयाँ अफर दिने घोषणा गरेका छन् । यस्तै यी कम्पनीहरुले उबर प्लेटफर्ममा बीवाईडीका सवारीहरुलाई सेल्फ ड्राइभिङ प्रविधिमार्फत एकीकृत गर्नका लागि संयुक्त रुपमा काम गरिरहेको पनि बताएका छन् ।

सामान्यतया जव एक उबर ड्राइभरले घभीमा स्विच गर्दा एक नियमित चालकको चुलनामा चार गुणासम्म उत्सर्जन लाभ दिन सक्ने उबरका सीईओ डारा खोसरोशाहीले बताए । किनकि सडकमा ईभी धेरै भएकाले पनि यस्तो अवस्था हुने उनको भनाइ छ ।

बीवाईडीले आफ्नो अमेरिकी प्रतिस्पर्धी टेस्लालाई उछिन्दै गत वर्ष विश्वभर धेरै विक्री हुने ईभीको रुपमा व्यापार बढाएको छ । गत जनवरीमा उबरले भने अमेरिकामा ईभीको प्रयोग बढाउनका लागि टेस्लासँग सहकार्य गर्ने जनाएको थियो । जवकि उबरले २०३० सम्ममा क्यानडा र अमेरिकालाई उत्सर्जन मुक्त सहर बनाउने उद्देश्य राखेको छ ।

सामान्यतया नेपालमा चल्ने पठाओ/इनड्राइभ बाइक वा ट्याक्सी जस्तै गरी युरोप र अमेरिकामा प्राइभेट कारहरुलाई पनि भाडामा बुक गरेर चलाउने गरिन्छ । यसका लागि उबर निकै लोकप्रिय प्लेटफर्म हो । जसले निजी कारहरुलाई ट्याक्सीको रुपमा प्रयोग गर्दै आएको छ । यसै क्रममा उबरले चिनियाँ ईभी बीवाईडीसँग सम्झौता गरेको हो ।


क्लिकमान्डु