आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेती जेल चलान



काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केपी उप्रेतीलाई जेल चलान गरिएको छ । बचतकर्ताको करिब ८ अर्ब हिनामिना गरेको आरोपमा उप्रेतीलाई प्रहरीले गत असार १९ गते पक्राउ गरेको थियो ।

उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना सहकारी, हस्त राउत अध्यक्ष रहेको नागरिक कल्याण बहुउदेश्यीय सहकारी, न्यूरोड, मनोजकुमार थापा अध्यक्ष रहेको हाम्रो बहुउदेश्यीय सहकारी संस्था र मोहन कुमार लामा अध्यक्ष रहेको घेदुङ बहुउदेश्यीय सहकारी संस्थाबीच मर्ज भएको थियो । सबै सहकारीको छुट्टाछुट्टै जाहेरीसहित प्रहरीले मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले उप्रेतीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएका हुन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेती नेकपा एमाले सहकारी विभागमा सचिवको रुपमा कार्यरत थिए । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा मर्ज भएका अन्य सहकारी सञ्चालकहरु भने फरार छन् ।


क्लिकमान्डु