भारतीय नम्बर प्लेटका ढुवानी साधनमा तेहेरो कर हटाउन उद्योगीको माग



विराटनगर । भारतीय नम्बर प्लेटको एउटै ढुवानीको साधनमा तीनै तहका सरकारले एउटै शीर्षकमा फरक फरक आंकडाको तेहेरो कर लिएको भन्दै कोशी प्रदेशका उद्योगी व्यवसायीहरुले तेहेरो कर खारेज गर्न माग गरेका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका अध्यक्षहरुले बुधबार प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

उद्योगीहरुले मुख्यमन्त्री कार्कीलाई उनकै कार्यकक्षमा भेटेर उक्त तेहेरो कर तत्काल खारेज गर्न माग गरेका हुन् । संघीय सरकारले भन्सार विन्दुमा प्रत्येक भारतीय मालवाहक सवारी साधनबाट एक हजार पाँच सय कर असुली गर्दै आएको छ ।

उक्त करले नै आयातित वस्तुको मूल्य बढ्ने र उद्योगको उत्पादन लागत वृद्धि गरिरहेको छ । मुख्यमन्त्री कार्कीलाई बुझाएको सुझाव उल्लेख गर्दै उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले क्लिकमान्डुसँग भने, ‘त्यही ढुवानीका साधनसँग प्रदेश र स्थानीय सरकारले पनि आफूखुसी थप कर लिएर मूल्यववृद्धि र उद्योगको उत्पादन लागत झन बढाउने कार्य गरिरहेको छ । भारतीय नम्बर प्लेटका ढुवानीका हरेक साधनसँग कोशी प्रदेश सरकारले पनि १५ सय र स्थानीय निकायले गाडीको भारवहन क्षमताका आधारमा प्रतिगाडी ३ सयदेखि ५ सयसम्म कर लिँदै आएको छ ।’

आफ्नै एक उद्योगबाट अर्को उद्योगमा कच्चा पदार्थ एवं अन्य सहायक कच्चा पदार्थको ढुवानी गर्दा कवाडी करका नाममा स्थानीय निकायले कर असुली गरेर उद्योगीलाई दुख दिएको उद्योगीहरुको गुनासो थियो ।

त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले औद्योगिक वातावरणलाई खलल हुने कुनै पनि क्रियाकलाप नगर्ने र गर्न नदिने प्रतिबद्धता व्याक्त गरेका थिए । उनले भारतीय नम्बर प्लेटका ढुवानीका साधनमा तेहेरो कर लिएको सन्दर्भमा सम्बद्ध सरोकारवालासँग परामर्श गरेर टुङ्गो लगाउने आश्वासन दिएका थिए ।

संघीय भावना अनुरुप एक ठाउँमा कर बुझाइसकेपछि त्यसको बाँडफाँटबाट तीनै तहले व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसै अनुरुप कार्य गराउन संघका निकायहरुसँग समन्वय गरिने मुख्यमन्त्री कार्कीले आश्वासन दिए । निजी क्षेत्रका पदाधिकारीको समूहमा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष सारडा, केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, मोरङ उद्योग ब्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना लगायतका उद्योगी सहभागी थिए ।


क्लिकमान्डु