भोजपुर बाढी: हाइड्रोमा २५ करोडको क्षति, सिंगो गाउँ ‘ब्ल्याक आउट’



भोजपुरमा बाढीले बगाएका दुई कामदारमध्ये एक जनाको शव भेटिएको छ । तीनवटा हाइड्रोमा क्षति पुगेको छ ।

विराटनगर । गएराति भोजपुरमा आएको बाढीले ३ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको छ । जलविद्युत आयोजना बगाउँदा करोडौंको क्षति पुगेको छ ।

साल्पासिलिछो गाउँपालिका- ४, ६ र षडानन्द नगरपालिका-२ मा निर्माणधीन दुई र निर्माण सम्पन्न एउटा हाइड्रोपावरलाई बाढीले बगाएको हो ।

बाढीले बगाउँदा बेपत्ता दुई कामदारमध्ये एकको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन् । बाढीले षडानन्द नगरपालिकाका दुई घर बगाएको छ । घरसँगै बगेकी एक महिलालाई स्थानीयले सकुशल उद्धार गरेका छन् ।

सदरमुकामदेखि ८० किलोमिटर उत्तर पूर्वमा पर्ने साल्पासिलिछो गाउँपालिका ४ र षडानन्द नगरपालिका २ को बीचमा रहेको ईखुवा खोला हाइड्रोपावरमा गएराति आएको बाढीले बगाएर बेपत्ता दुई कामदारमध्ये एकको बुधबार बिहान शव फेला परेको छ ।

एक जना अझै बेपत्ता छन् । बाढी र पहिरोमा परेर षडानन्द नगरपालिका २ का सिता राई र चित्रबहादुर दर्जीको घर बगाएको छ । बाढीले घरसँगै सितालाई पनि बगाउँदा स्थानीयले उनको सकुशल उद्धार गरेको परियोजना प्रमुख रोशन बस्नेतले क्लिकमान्डुलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाका अनुसार बेपत्तामध्ये ३० वर्षीय रमेश थारुको शव घटनास्थलदेखि करिब ३६ किलोमिटर पूर्व षडानन्द नगरपालिका ६ स्थित सतिसालमा पर्ने अरुण नदीको किनारमा फेला परेको हो । उनीसँगै बेपत्ता भएका २६ वर्षीय श्यामकुमार थारुको अवस्था अझै अज्ञात भएको तिम्सिनाले बताए ।

सदरमुकामबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त हाइड्रोपावरमा ७०–७५ जना कामदार काम गर्दै आएका थिए । उनीहरु हाइड्रोपावरकै क्याम्पमा बस्दै आएका थिए ।

नायव उपरीक्षक तिम्सिनाका अनुसार माथिबाट पहिरो आएर बगाउन थालेपछि सबै भागेका थिए । तीन जना भाग्न नसक्दा बगेका थिए । बाढीले बगाउँदा दुई बेपत्ता भए । उनीहरुमध्ये राम किशन थारुलाई सामान्य घाइते अवस्थामा राति नै उद्धार गरिएको तिम्सिनाले जानकारी दिए । उनको अवस्था सामान्य छ । क्याम्पलाई पहिरोले बगाएर खोलामा मिसाएको थियो ।

बाढीले हाइड्रो बगाउँदा करोडौंको क्षति

१४ दशमलव ५ मेगावाट विधुत उत्पादन गर्ने उक्त हाइड्रोपावर गत वर्षदेखि आरती पावर कम्पनी लिमिटेडले निर्माण गर्दै आएको थियो । निर्माण कम्पनीका परियोजना संयोजक बस्नेतका अनुसार बाढीले परियोजनाको करिब २० करोड भन्दा बढीको क्षति गरेको छ । उनका अनुसार बाढीले परियोजनाको च्यानल, पाइप, पावर हाउस र मेसिन सबै बगाएको छ ।

त्यसैगरी यही परियोजना नजिकै निर्माणाधीन रहेको ४ दशमलव ३ मेगावाटको फेदी थुमुलुङ खोला हाइड्रोपावर पनि गएराति आएको पहिरो र बाढीले पूरै बगाएको छ । मानवीय क्षति नभए पनि करिब ५ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

गाउँपालिका अध्यक्ष दौलथकुमार कुलुङ राईका अनुसार बाढीले वडा नं ३ मा रहेको ३५ किलोवाटको लघुजलविद्युत् योजना अन्तर्गतको तिर्खुवा विद्युत योजना पनि बगाएको छ ।

उक्त योजनावाट उत्पादन हुने विद्युत गाउँपालिकाका सबै सरकारी कार्यालय सहित स्थानीयलाई पनि विद्युत उपलब्ध हुँदै आएको थियो । उनका अनुसार बाढीले उक्त योजना बगाएपछि सिंगो साल्पासिलिछो गाउँपालिका अन्धकार भएको छ ।


विनोद भण्डारी