विदेश जाने ८ मध्ये १ जना मात्र जानकार, बिक्छ ५ प्रतिशतमात्र

वैदेशिक रोजगारी बचतपत्र बारे जानकारी भए पनि नकिन्नुका ३ कारण, यसो गरे सबै बिक्छः अध्ययन



काठमाडौं । वैदेशिक रोजगारीमा जाने ८ मध्ये एक जनालाई मात्र वैदेशिक रोजगारी बचतपत्रबारे जानकारी रहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्यययनमा ८ प्रतिशतलाई मात्रै वैदेशिक रोजगार बचतपत्रबारे जानकारी रहेको पाइएको हो ।

नेपाली नागरिकको वैदेशिक रोजगारीमा आकर्षण बढिरहेको सन्दर्भमा एकातर्फ विप्रेषण आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र अर्कोतर्फ सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको शुरुवात भएको हो ।

वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन यसको ब्याजदर तुलनात्मक रुपमा उच्च हुने गरेको छ । यस्तो बचतपत्र आवश्यकता अनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा लिन सकिने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र आह्वान भएकोमा जम्मा ७६ करोड २३ लाख (४.९%) मात्र बिक्री भएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौं बाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफण्टाका नाकाहरुमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका भेटिए । ३८५ मध्ये १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइयो तर जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद नगरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टहरुसँग इमेल सर्वेक्षण गरेको हो ।

वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झण्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनु पर्ने कारण उल्लेख गरेका छन् ।

यसैगरी वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेण्टका १६ प्रतिनिधिहरुसँग गरिएको इमेल सर्वेक्षण अनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधनी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी, काठमाडौं स्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षण अनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका छन् ।

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र अपेक्षित रुपमा परिचालन हुन नसकेको सन्दर्भमा प्रवद्र्धनका उपायहरु सुझाउन अध्ययन गरेको हो । अध्ययनमा वैदेशिक रोजगार बचतपत्र परिचालन स्थिति तथा योगदानको समग्र विश्लेषण गर्दै बचतपत्रबारे जानकारी, खरिद गर्ने तत्परता, खरिद गर्न चाहने/नचाहने कारण र प्रवद्र्र्धनका उपायहरुको विश्लेषणको लागि तीन प्रकारका सर्वेक्षण सम्पन्न गरिएको हो ।

अध्ययनले वैदेशिक रोजगार बचतपत्र प्रवद्र्धनको लागि बमोजिमका नीतिगत तथा प्रक्रियागत सुधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

नीतिगत सुधारः

(क) वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुको साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउने ।
(ख) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउने । यद्यपी, कतिपय मुलुकहरुको कानूनले यस्तो बन्देज लगाएको सन्दर्भमा श्रम संझौतामा समावेश गरी लगानी गर्न सक्ने व्यवस्था मिलाउन पहल गर्ने ।
(ग) नेपाल सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचपतत्र छुट्टा छुट्टै निकाल्नु भन्दा एकै प्रकारको बचतपत्रको व्यवस्था गर्ने तर गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीलाई बचतपत्र खरिदमा विनिमयदर मार्फत् सहुलियत दिने ।
(घ) सरकारले बजेट घाटा परिपूर्तिको लागि बचतपत्र निष्काशन गर्ने प्रचलन रहेकोमा आगामी वर्षहरुमा मुलुकको सर्वाधिक महत्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन बचतपत्र निष्काशन गर्ने ।

प्रक्रियागत सुधारः

(क) बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा बचतपत्र धनीको बैंक खातामा सोझै उपलब्ध हुने व्यवस्था मिलाउने ।
(ख) बचतपत्रको प्रमाणपत्र तत्काल उपलब्ध हुने वा अनलाइन मार्फत प्राप्त हुने व्यवस्था मिलाउने ।
(ग) हाल बचतपत्र वर्षको एकपटक छोटो अवधिका लागि मात्र आव्हान हुने गरेकोमा आर्थिक वर्षको शुरुमा निष्काशन गर्ने र आव्हान रकम बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउने ।

प्रचार–प्रसारमा जोड दिनेः

(क) सामाजिक सञ्जालको उपयोग गरी वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसार व्यापक बनाउने ।
(ख) नेपालबाट वैदेशिक रोजगारीका आकर्षक गन्तव्य रहेका मुलुकस्थित नेपालका कुटनीतिक नियोग मार्फत् वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारमा तीव्रता दिने ।
(ग) रोजगारीमा जाने व्यक्तिलाई श्रम विभाग, वैदेशिक रोजगार कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्क मार्फत् वैदेशिक रोजगार बचतपत्रको फाइदाका सम्बन्धमा ब्रोसर वा पुस्तिकाका माध्यमबाट जानकारी गराई प्रचारप्रसार गर्ने ।
(घ) रोजगारीमा जाने व्यक्तिको लागि आयोजना गरिने अभिमुखीकरण तालिममा वैदेशिक रोजगार बचतपत्रको जानकारी अनिवार्य बनाउने ।


क्लिकमान्डु