जिबी राईसहित सहकारी ठगीमा संलग्न १८ जनालाई विदेशबाट झिकाउन सरकारलाई समितिको निर्देशन



काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बचतकर्ताको बचत ठगेर विदेशमा लुकेका १८ जनालाई खोज्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्न रहेर फरार हुँदै विदेशमा रहेका १८ जनालाई स्वदेश फर्काउन निर्देशन दिएको हो।

समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थाका १८ जना व्यक्तिले बचतकर्ताको बचत अपचलन तथा दुरुपयोग गरेर विदेशमा लुकेर बसेका छन् ।

उनीहरुले बचत फिर्ताका विषयमा समितिलाई के भन्छन् भन्ने महत्त्वपूर्ण रहेको समिति सभापति सूर्य थापाले बताए । सबै जना छानबिनको दायरामा आउन आवश्यक रहेको उनको भनाइ छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका व्यवसायीक साझेदार समेत रहेका सानो पाइला, सहारा, सूर्य र्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग गर्ने गितेन्द्र बहादुर (जिबी राई) लगायत १८ जनालाई जुन देशमा भए पनि स्वदेश ल्याउन निर्देशन दिएको हो ।

यस्तै सुमेरु सहकारी कालिमाटी र पुल्चोकका भरत महर्जन तथा उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन र छोरी सरला महर्जनको खोजी गर्न समितिले निर्देशन दिएको छ ।

१ करोड ५४ लाख बचत फिर्ता नगरेका सूर्यदर्शन सहकारी पोखराको अध्यक्ष बनिसकेका ज्ञानबहादुर बम्जन जो हाल अमेरिकामा रहेका छन् ।

सूर्यदर्शन सहकारीका पछिल्ला अध्यक्ष थान बहादुर बुढामगर, भुपेन्द्र राई, शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव तेज बहादुर बम्जन तामाङ, इमेज सहकारीका देव कुमार नेपाली र उनकी श्रीमती छेदा नेपाली, सानो पाइला सहकारीको तस्विरन खातुन र असरफ अली, सहारा सहकारी चितवन तथा सुप्रिम सहकारी बुटवलसँग सम्बन्धित सुवास केसी फरार छन् ।

इमेज सहकारीका प्रबन्धक दिपक पौडेल, शिवशिखर सहकारीका सीईओ लिलानाथ गौतम, कान्तिपुर सहकारीका प्रेमध्वज लामा, मेगा ड्रिम सहकारीका महाशंकर रेग्मी पनि विदेश फरार रहेका छन् । सहकारीको नाममा बचतकर्ता ठगीको आरोप लागेका उनीहरु मध्ये कोही अमेरिका, केही बेलायत, केही मलेसिया, केही भारत, केही यूरोप र केहीको अवस्था अज्ञात रहेको समितिका सभापति थापाले बताए ।

उनीहरुको खोजीका लागि गृहमन्त्रीलाई निर्देशन दिइएको थापाले बताए । उनीहरुलाई सम्पर्कमा ल्याएपछि मात्रै समितिले गरेको छानबिन निष्कर्षमा पुग्ने थापाको भनाइ छ ।

केही सहकारीका ठगहरु कारागारमा रहेका छन् । समितिले पोखरा, विराटनगर, काठमाडौं लगायतमा ठाँउमा कारागारमा रहेकाहरुसँग सोधपुछ गर्ने थापाले बताए । उनीहरुको सोधपुछका लागि आवश्यक जनशक्ति, स्रोत, साधनको व्यवस्था गर्न समितिले सरकारसँग आग्रह गरेको छ । गृहमन्त्रीले त्यसका लागि सहयोग गर्ने वचन दिएको थापाले जानकारी दिए ।

विदेशमा रहेका र हिरासतमा रहेका २५ जना मध्ये २४ जनासँग सोधपुछ गर्ने थापाको भनाइ छ । १ जनालाई सक्सेस स्टोरीको रुपमा हेरिने उनको भनाइ छ । सोधपुछ गर्ने नाम गृह प्रशासनलाई दिएको थापाले बताए ।
छलफलमा मन्त्री लेखकले समितिलाई आवश्यक सहयोग गर्ने बताएका छन्।


क्लिकमान्डु