नेताहरुको फोटो राखेर यमराजको पूजा गरिरहेका खतिवडा पक्राउ



काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चामा रहेका आफूलाई ज्योतिषी बताउने पुष्कर खतिवडा पक्राउ परेका छन् ।

आफूलाई धार्मिक अभियन्ता बताउने उनलाई प्रहरीले निवासबाट पक्राउ गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार पक्राउ गरेको हो । नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने भन्दै उनले धार्मिक कार्य गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा साथ दिन उनले आग्रह गरेका थिए ।

‘श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा, यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्युको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

उनले आफूलाई प्रहरीले पक्राउ गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ । कामना गरौं देश बनोस्’ उनले लेखेका छन्।

खतिवडाले आफ्नो फेसबुक पेजमा नेताहरुको मृत्युको कामना गर्दै आयोजना गरेको अनुष्ठानको लाइभ गरेका छन् । पूजा सामग्रीहरूको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखिएको भिडियोमा देखिन्छ ।


क्लिकमान्डु