त्रिशुलीमा हराएका बस र यात्रु नभेटेपछि भारतीय टोली फर्कियो



काठमाडौं । चितवनको सीमलताल पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका दुई बस र यात्रुहरुको खोजीका लागि आएको भारतीय टोली फर्किएको छ ।

असार २८ गतेदेखि त्रिशुली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि गत साता अत्याधुनिक प्रविधि तथा उपकरणसहित १२ जना भारतीयको दक्ष टोली नेपाल आएको थियो ।

तर सबै यात्रु र बस नभेटिएपछि ८ दिनमै भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को टोली आइतबार फर्किएको हो ।

विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार भारतीय टोलीले खोजीका लागि प्रयोग गरेको चुम्बक नै शुक्रबार हराएको थियो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले खोजी जारी राख्ने महाशाखाले जनाएको छ ।

साथै खोजी कार्य सम्पन्न नभएको बताइएको छ । यसका लागि अन्य उपाय तथा विधि पनि उपयोग गरिएको महाशाखाले जनाएको छ ।

गत असार २८ गते वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट वीरगन्ज जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स यात्रुवाहक बसलाई सीमलतालमा लेदोसहित खसेको पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता बनाएको थियो ।

अहिलेसम्म २० जना यात्रुको शव भने भेटिएको छ । तीमध्ये चार जनाको शव पहिचान भएको छैन । तर दुबै बस भेटिएका छैनन् । २ यात्रुको शव भने भारतमा भेटिएको थियो । दुर्घटनामा तीन यात्रु भने हामफालेर बाँच्न सफल भएका थिए ।


क्लिकमान्डु