बचतकर्ताको ९ करोड ठगेर सुयोग बहुउद्देश्यीय सहकारीका ८ जना अझै फरार, ३ पक्राउ



काठमाडौं । सुयोग बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ८ करोड ९८ लाख २८ हजार ७८३ रुपैयाँ ठगी गरेको छ । सहकारीका अध्यक्ष तथा सञ्चालकले १३६ बचतकर्ताको उक्त रकम ठगी गरेका हुन् ।

बचतकर्ता ठग्नेहरुमा सहकारीका अध्यक्ष ललितपुर महानगरपालिका–२० का सुनिल महर्जन, सहकारीका उपाध्यक्ष ललितपुर महानगरपालिका–१२ बस्ने मलिका महर्जन सहकारीका सचिव भक्तपुर–७ का अर्पण कवा रहेका छन् । उनीहरु पक्राउ परिसकेका छन् ।

बचतकर्ताको बचत ठगेर फरार रहनेमा सहकारीका कोषाध्यक्ष भक्तपुर १२ की गिता सिख्वाल, सहकारीका व्यवस्थापक ललितपुर महानगरपालिका–२० की रेश्मी शिल्पकार, सहकारीको चापागाँउ शाखाका व्यवस्थापक ललितपुर महागरपालिका कोन्ज्योसोम गाँउपालिका २ का बिष्णु सञ्जेल, सहकारीको लेखा समिति सदस्य ललितपुर महानगरपालिका–७ का भुपेन्द्र महर्जन, सहकारीका सञ्चालक समिति सदस्य ललितपुर महानगरपालिका–८ बालकुमारी बस्ने रबिन महर्जन, सहकारीका सञ्चालक समिति सदस्य अछाम जिल्ला बन्निगढीजयगढ गाँउपालिकाका रन बहादुर साउद, सहकारीको सञ्चालक समिति सदस्य ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–८ लुभू बस्ने रंजित श्रेष्ठ र सहकारीका सञ्चालक समिति सदस्य ललितपुर महानगरपालिका ९ बस्ने मोहन अवाले रहेका छन् । उनीहरुलाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । यो सहकारी बागमती प्रदेशमा दर्ता रहेको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन सहकारी मन्त्रालयले २०८० पुस २३ गते मन्त्री स्तरिय निर्णय गरेर कानून अनुसार कारबाही गर्न ललितपुर प्रहरीलाई पत्र लेखेको थियो । यो संस्था ललितपुर महानगरपालिका-२० मानभवनमा रहेको छ ।

सहकारी ठगहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ बमोजिमको जिल्ला अदालत ललितपुरमा सजाय मागदाबी गरिएको छ । उक्त सजायमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना रहेको छ ।


क्लिकमान्डु