जगदम्बाको व्यापार घट्यो, एक वर्षमा गर्‍यो साढे १५ अर्बको कारोबार



काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्राइभेट लिमिटेड (जेईपीएल) ले आर्थिक वर्ष २०२३ को एक वर्षमा १५ अर्ब ४६ करोडको व्यापार गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०२२ मा भने कम्पनीले १५ अर्ब ४६ करोड १० लाखको व्यापार गरेको थियो । यस्तै आर्थिक वर्ष २०२१ मा जगदम्बाले १४ अर्ब २६ लाख रुपैयाँको ब्यापार गरेको थियो ।

यसरी हेर्दा कम्पनीको व्यापार आर्थिक वर्ष २०२२ मा भन्दा २०२३ मा १० लाख रुपैयाँले कम देखिएको छ ।

कम्पनीले जम्मा १५ अर्ब ८० करोड ६६ लाख कर्जाको लागि रेटिङ गराएको छ । जसमध्ये दीर्घकालीन कर्जाको रुपमा १ अर्ब ८८ करोड ६६ लाख र अल्पकालीन कर्जाका लागि १३ अर्ब ९२ करोडको रेटिङ पाएको छ ।

जगदम्बा इन्टरप्राइजेज एक प्राइभेट लिमिटेड कम्पनीको रुपमा २००१ को मार्च २९ मा सुरु भएको थियो । पर्सा जिल्लाको जितपुरमा कम्पनीको ब्ल्याक एन्ड गेल्भनाइज्ड पाइप निर्माणको उद्योग सञ्चालित छ । यस कम्पनीले २०२२ मा स्टिल मेल्टिङ सप र २०२३ जुनदेखि हट स्ट्रिप मिल प्लान्ट सञ्चालनमा ल्याएको छ ।

यसका लागि २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । उद्योगको कुल लगानीमा ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।

यस उद्योगले टिएमटी बार र एमएस ब्ल्याक पाइप लगायत विभिन्न आकारका स्टिल उत्पादन गर्दै आएको छ । यस कम्पनीले जगदम्बा र जगशक्ति ब्रान्डका विभिन्न स्टिलजन्य उत्पादन गर्दै आएको छ । यस वार्षिक रुपमा ९ लाख २० हजार ६ सय मेट्रिक टन स्टिलजन्य उत्पादनहरु गर्ने उद्योगको क्षमता रहेको छ ।

अनिल कुमार रुङ्गटा र विशाल पटवारी निर्देशक रहेको कम्पनीले ‘जगदम्बा’ र ‘जागशक्ति’ ब्रान्डमा विभिन्न प्रकारका स्टिलजन्य सामग्री बिक्री वितरण गर्दै आएको छ । देशभरका मुख्य सहरमा सामग्री उपलब्ध रहेको कम्पनीले डण्डी, पाइप, आइरन पाइप, एचआर स्ट्रिप्स, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड बिल्डिङ कम्पोनैनटलगात अन्य विभिन्न स्टिलका पोल उप्पाद गर्दै आएको छ ।


क्लिकमान्डु