कालिमाटी तरकारी बजारमा आज : थोकमा घट्दा खुद्रामा अझै महँगो मूल्य, नियमनकारी निकाय लाचार



काठमाडौं । तरकारीको थोक मूल्यमा गिरावट आएपनि खुद्रा व्यापारीले अझै मूल्य नघटाएका कारण आम उपभोक्ताले महँगोमा तरकारी खरिद गरी उपभोग गर्न बाध्य छन् ।

खुद्रा व्यापारीले तरकारीको आपूर्ति निक्कै कम भएको बहानामा आफुखुशी मूल्य तोकेर बिक्री गर्दा आम उपभोक्ताले महँगोमा खरिद गर्न बाध्य छन् । खुद्रा व्यापारीले एउटै तरकारीमा ८० रुपैयाँसम्म मुनाफा राखेर बिक्री गर्दैआएको पाइएको छ ।

कालिमाटी बजारमा अहिले ६ हजार ६ सय ८१ मेट्रिक टन तरकारी आयात भइरहेको छ । कालिमाटीमा नियमित रुपमा यहि परिमाणमा तरकारी आपूर्ति हुन्छ ।

बजार अनुगमनको जिम्मेवारी बोकेको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थोक तथा खुद्रा व्यापारीको तहमा अनुगमन नगर्दा खुद्रा व्यापारीले आफुखुशी मूल्य तोकेर उपभोक्ताबाट मूल्य असुल गर्दैआएका छन् । अर्कोतर्फ किसानले पनि लागत मूल्य पाएका छैनन् ।

आइतबार ४ प्रकारका तरकारीको मूल्य १ सयभन्दा माथि मात्रै रहेको पाइएको छ । बाँकी सबै प्रकारका तरकारीको मूल्य घटेर २० रुपैयाँदेखि ९५ रुपैयाँमा थोकमा बिक्री भएको छ । खुद्रा व्यापारीले भने घटेको तरकारीको मूल्य पनि एक सयभन्दा माथि राखेर बिक्री गरेका छन् ।

कालिमाटी बजारमा आइतबार गाजर ११०, मकै बोडी ११०, राजमा घिउ सिमी १३५, टाटे सिमी ११०, भटमास १६० रुपैयाँ प्रतिकिलोमा आइतबार बिक्री भएको छ ।

उता ठूलो गोलभेडा ७५, स्वदेशी सानो गोलभेडा २२.३३, टनेलको सानो गोलभेडा ३२.७५, रातो आलु ६७.३३, मुढे रातो आलु ४९.७५, सेतो आलु ५१, प्याज ८२.३३, बन्दा ४०, स्थानीय काउली ७५, ज्यापु काउली ८५, सेतो मुला २७.६७, लाम्चो भान्टा ५५ र तने बोडी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै घिउ सिमी ६५, तिते करेला ५५, लौंका ३५, परवर ५५, चिचिण्डो ३५, घिरौला ५०, भिगुनी ५५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ६८.७५, भिण्डी ४५, स्कुस ६५, रायो साग ८५, तोरीको साग ६५, कन्ये च्याउ १८६.६७, डल्ले राजा च्याउ २९०, राजा च्याउ २९०, ब्रोकाउली ११५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु