महासंघ अध्यक्ष चन्द्र ढकालले गरे कर्जा विस्तारलाई सहज बनाउने मौद्रिक नीतिको स्वागत



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेपश्चात प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले १२.५ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए ।

ढकालले निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गरे । यस्तै निष्क्रिय कर्जाको स्तरोन्नती प्रक्रियामा सहजीकरण राम्रो पक्ष भएको बताउँदै ढकालले भने, ‘समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा विस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको छ । निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष हो । सेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको छ ।’

अध्यक्ष ढकालले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजीकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मवल बढ्ने विश्वास रहेको बताए । उनले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गरे । ‘मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा त्यही अनुसार आउन आश्वयक छ,’ ढकालले भने, ‘मौद्रिक नीतिले मात्रै निजी क्षेत्रको आत्मवल बढाउने होइन । सरकारको स्थिर नीति लगायत स्थिर सरकारले फरक पर्छ । मौद्रिक नीति सहज आएको छ । त्यसले केही हदसम्म आत्मबल बढाउन सहयोग पु¥याउँछ ।’

अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा अध्यक्ष ढकालको छ ।


क्लिकमान्डु