१३ लाख सेना भएको भारतले रक्षामा कति छुट्यायो बजेट ?



पाकिस्तान र चीनको तुलनामा भारतको सैन्य बजेट कस्तो छ ? पाकिस्तानको तुलनामा भारतले १० गुणा ठूलो सैन्य बजेट छुट्याएको छ । नयाँ बजेटसँगै भारत सबैभन्दा धेरै रक्षा बजेट छुट्याउने देशहरुको सूचीको पाँचौं नम्बरमा परेको छ ।

एजेन्सी । रक्षा मामिलामा सबैभन्दा धेरै बजेट खर्च गर्ने देशहरुको सूचीमा भारत चौथो नम्बरमा परेको छ । मंगलबार नरेन्द्र मोदी नेतृत्वको सरकारले जारी गरेको बजेटले रक्षामा बजेट बढाएको छ।

विश्वभर रक्षा मामिलाबारे रिपोर्ट सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय संस्था स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टले भारतलाई सबैभन्दा ठूलो रक्षा बजेट हुने देशको चौथो नम्बरमा राखेको छ ।

आर्थिक वर्ष २०२४/२५ का लागि भारतको बजेटले रक्षा क्षेत्रका लागि भारत सरकारले महत्त्व र प्राथमिकता दिएको छ । ४८ लाख करोड भारुको बजेटमा अर्थमन्त्री निर्मला सितारमणले रक्षाका लागि मात्रै लगभग ६ लाख २२ हजार करोड भारु बजेट छुट्याएकी छन् । जुन कुल बजेटको लगभग १३ प्रतिशत हो ।

विश्लेषकहरुले भने पाकिस्तान र चीनको रक्षा बजेटलाई अवलोकन गर्दै भारतले पनि रक्षा बजेट बढाएको टिप्पणी गरिरहेका छन् । यससँगै भारतको रक्षा बजेट पाकिस्तानको तुलनामा १० गुणा बढी छ । तर चीनको भन्दा थोरै । जवकि चीनले २०२४ का लागि २३० अर्ब डलरभन्दा धेरै रक्षा बजेट छुट्याएको छ ।

भारतले कहाँ उपयोग गर्छ रक्षा बजेट

भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहले अर्थमन्त्री सितारमणलाई रक्षा बजेट बढाएकोमा धन्यवाद दिँदै यो बजेटबाट १ लाख ७२ हजार करोड रुपैयाँ लगानीले सशस्त्र बलहरुको क्षमता र शक्ति प्राप्त हुने प्रतिक्रिया दिएका छन् ।

‘मलाई खुसी लागेको छ पछिल्लो बजेटमा सीमावर्ती सडकहरुका लागि जति रकम विनियोजन गरिएको थियो त्यसमा ३० प्रतिशत वृद्धि गरिएको छ । बीआरओका लागि ६५०० करोड बिनियोजन गर्नाले हाम्रो सीमावर्ती संरचना बलियो हुनेछ,’ रक्षामन्त्री सिंहले भनेका छन् ।

नयाँ बजेट अनुसार भारतको प्राथमिकता रक्षा बलहरुलाई आधुनिकीकरण गर्नु र यसका लागि बजेटमा छुट्याइएको राशि २०२२/२३ को वास्तविक खर्चभन्दा २०.३३ प्रतिशत बढी देखिएको छ । यससँगै नयाँ रक्षा बजेटबाट सशस्त्र बलहरुका लागि आधुनिक प्रविधि, घातक हतियार, युद्धक विमान, समुद्री जहाज, बिना पाइलटको विमान, पनडुब्बी र ड्रोन लगायतका सामग्री उपलब्ध गराउने बताइएको छ ।

तर रक्षा बजेट बढाइएकोमा कतिपयले आलोचना पनि गरेका छन् । तर केहीले भने भारतीय सेनाले अहिले पनि सोभियत रुसको जमानाका हतियार प्रयोग गरिरहेको भन्दै यसलाई आधुनिकीकरणका लागि बजेट बढाइनु स्वभाविक ठानेका छन् ।

भारतको रक्षा बजेटसँग पाकिस्तान र चीनको तुलना

चीनसँग भारतको ३५०० किलोमिटर र पाकिस्तानसँग ७७४ मिलोमिटर लामो सीमा जोडिएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको रक्षा बजेट २३१ अर्ब डलरभन्दा धेरै छ । जुन भारतको ७५ अर्ब डलरको रक्षा बजेटभन्दा ज्यादै धेरै हो ।

त्यसो त चीनले हरेक वर्ष आफ्नो रक्षा बजेट बढाउँदै आएको छ । पाकिस्तानको रक्षा बजेट भने ७ अर्ब डलरभन्दा केही बढी छ । तर परमाणु हतियारका लागि पाकिस्तानले आफ्नो जासुसी बजेट सार्वजनिक गरेको छैन ।

यसैले पनि पाकिस्तानको रक्षा बजेटको पूर्ण रकम सार्वजनिक नभएको जस्तै छ । तर पाकिस्तानले हालको रक्षा बजेट बढाएर पछिल्लो ६ वर्षको सबैभन्दा ठूलो बनाएको छ। यसअन्तर्गत पाकिस्तानको रक्षा बजेटको साढे ६ हजार करोड भारु सीमा सडक संगठन बीआरओका लागि विनियोजन गरिएको छ । जुन पछिल्लो ३० वर्षको तुलनामा ३० प्रतिशत बढी हो ।

भारतमा हाल लगभग १३ लाख सैनिक छन् । तर यो संख्यालाई कम गरेर ८ लाख बनाउने भारतको तयारी छ । यसले सैनिकहरुको तलब र अन्य खर्चमा कमी आउने अपेक्षा गरिएको छ । र उक्त रकम सरकारले अन्यत्र खर्च गर्न पाउने छ । यदि पाँच लाख सैनिक कम गरेको खण्डमा पेन्सन, तलब, मेडिकल र अन्य सुविधाको खर्चमा पनि सरकारको ठूलो रकम कटौती हुने देखिन्छ ।

भारतीय रक्षा मामिलाका जानकारहरुका अनुसार चीन र पाकिस्तानसँग सीमा जोडिएका भारतीय धेरैजसो क्षेत्र दुर्गम छन् । र भारतसँग हाल रहेको प्रविधिको प्रयोगले भारतीय सेनाले चीनको सीमा निरीक्षण गर्न कठिन काम नै मानिन्छ ।

त्यसैले पनि ती दुर्गम क्षेत्रमा सैनिकहरुको आवश्यकता हुन्छ । र अत्याधुनिक हतियारको प्रयोग यति छिटो बढिरहेको छ कि त्यसको खरिदका लागि भारतलाई ठूलो रकम आवश्यक पर्ने जानकारहरु बताउँछन् ।


क्लिकमान्डु