अर्बौं ठगेर लालीगुँरास सहकारीका सीईओले गरे निजी कम्पनी, हाइड्रो र सेयर बजारमा लगानी



काठमाडौं । लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले बचतकर्ताको अर्बौं रकम निजी प्रयोजनमा खर्च गरेको पाइएको छ ।

जिल्ला सकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा भण्डारीले बचतकर्ताबाट करिब ६ अर्ब ३० करोड रुपैयाँ संकलन गरेको स्वीकारेका छन् ।

उनले त्यो रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको सेयर आफ्नो नाममा किनेको, बिना धितो कर्जा दिने, पर्सामा गाई फर्म, ललितपुरको गोदावरीमा दुग्ध प्रोसेसिङ सेन्टर, सिन्धुपाल्चोकमा रहेको भैरवकुण्ड हाइड्रोपावर, ललितपुरको ताल्सिखेलमा लालीगुँरास अस्पतालमा लगानी गरेका छन् ।

सहकारीको नाममा बचतकर्ताको पैसा संलकन गरेर भण्डारी लगायत सहकारीका सञ्चालकहरुले निजी कम्पनी, व्यक्तिगत लगानीमा गरेका छन् ।

भण्डारीका अनुसार सहकारी संस्थामा २२ हजार बचतकर्ताको करिब ६ अर्ब ३० करोड बचत रहेको छ ।
सहकारीले साधारण बचतमा ९ प्रतिशतसम्म र मुद्दती बचतमा १३ प्रतिशतसम्म ब्याज दिने भनेर बचत संकलन गरेको थियो ।

बचतकर्तालाई ब्याजको प्रलोभन देखाएर संकलन गरेको पैसाले विभिन्न बैंक, वित्तीय संस्था कम्पनीमा ठूलो मात्राको सेयर रहेको सीडीएससीले पुष्टि गरेको अभियोग पत्रमा उल्लेख छ ।

भण्डारी नै सहकारीले २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोडभन्दा बढी रकम बचतकर्ताहरूलाई फिर्ता गर्नुपर्ने देखिएता पनि उक्त सहकारी संस्थाका बचतकर्ताहरुले रकम फिर्ता गर्न नसकेको स्वीकार गर्छन् ।

सहकारीका अध्यक्ष, सीईओ, पदाधिकारी र सञ्चालक लगायतलाई २ करोड १४ लाख २४ हजार ४५१ रुपैयाँ माग दाबी गरि जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।

सहकारी ठगहरु अमर दास श्रेष्ठ सुरेन्द्र भण्डारी, अमृत कुमार अर्याल, कदम जोशी (प्रधान), हजुरी विष्ट, भोला कुमार श्रेष्ठ पुण्य प्रसाद पोखरेल, विद्यादेवी पाण्डे र तिमिला रंजितलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (३) को देहाय खण्ड (ग) बमोजिम सजाय हुन मागदावी लिएको छ ।

उपदफा (३) को देहाय खण्ड (ग) बमोजिम कसुर गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना लाग्ने कानूनी व्यवस्था रहेको छ ।

विगो रकम २ करोड १४ लाख २४ हजार ४५१ रुपैयाँ मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम जाहेरवालाहरुलाई दिलाई भराई पाउन र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसूरदारहरुबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन माग दाबी गरिएको छ ।

ललितपुर जिल्ला अदालतमा सहकारीका अध्यक्ष ७४ वर्षका अमर दास श्रेष्ठ, उपाध्यक्ष ७० वर्षका हजुरी बिष्ट, सचिव तथा सीईओ ४६ वर्षका सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७६ वर्षका अमृत कुमार अर्याल, सहकारीको सञ्चालक ६२ वर्षकी कदम जोशी (प्रधान), सहकारीको सञ्चालक ६२ वर्षका भोला कुमार श्रेष्ठ, लेखा समिति सदस्य ७० वर्षकी विद्यादेवी पाण्डे र लेखा समिति सदस्य ६८ वर्षकी तिमिला रंजितकार रहेकी छिन् ।


क्लिकमान्डु