भारतमा घट्यो सुनचाँदीको भन्सार शुल्क, नेपालमा कस्तो प्रभाव पर्ला ?



काठमाडौं । भारत सरकारले सुन चाँदी आयात गर्दा भन्सार शुल्कमा ४ प्रतिशत बिन्दूले कटौती गरेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार वित्त बर्ष २०२४/२५ को बजेट सार्वजनिक गर्दै सुन चाँदी आयात गर्दा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतलाई घटाएर ६ प्रतिशत कायम भएको घोषणा गरेकी छन् । यसका साथै प्लाटेनियममा पनि भन्सार शुल्क घटाएर ६.४ प्रतिशतमा झारिएको छ ।

भारतको नयाँ यो नीतिका कारण भारतमा अब सुन चाँदीको गहना निक्कै सस्तो हुने भएको छ । भारतमा सस्तो हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालको सुन चाँदीको बजारमा पनि पर्ने सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले जानकारी दिए । उनका अनुसार नेपालमा सुन चाँदी आयात गर्दा भन्सार शुल्क २० प्रतिशत छ ।

‘हाम्रोमा भन्सार शुल्क निक्कै धेरै छ, उता शुल्क घट्दा पक्कै पनि भारतबाट सस्तो मूल्यको सुन चाँदी र त्यसबाट निर्माण भएका गरगहना नेपालमा अनौपचारिक रुपमा भित्रिने जोखिम बढेको छ,’ शाक्यले भने ।

भन्सार विभागका अनुसार नेपालमा युएई, बहराइन, सिंगापुर, ब्रुनाई, साउदी अरब, हङकङ, कुवेत, कतार, ओमान, अमेरिका, बेलायत, टर्की, केन्या, भारत, डेनमार्क, युक्रेन, इटली, चीनलगायत २० भन्दा बढी देशबाट सुन आयात हुन्छ ।


क्लिकमान्डु