बैंक खातामा प्यान अपडेट गर्नुपर्ने



काठमाडौं । एनआईसी एशिया बैंकले बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकलाई अनुरोध गरेको छ । बैंकले ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन, २०५८ बमोजिम सरकारले जारी गरेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकले बैंकको प्यान अपडेट पोर्टल वा मोबाइल बैंकिङ्ग एपमार्फत् प्यान अद्यावधिक गर्न भनेको हो ।

साथै, ग्राहकले बैंकको कुनै पनि शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक हुन्छ । प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।

जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले जनाएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारण ईटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने जानकारी पनि गराएको छ ।


क्लिकमान्डु