२ सय ८९ उद्योग बन्द



गोदावरी । कैलालीमा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिए । पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको छ । महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो ।

एक करोड रूपैयाँसम्मको कुल पूँजी भएका निजी फार्म महिलाका नाममा दर्ता गर्दा शुल्कमा छुटको कानुनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढेको जोशीले बताए । कैलालीमा हालसम्म १५ हजार चार सय ८६ उद्योग दर्ता छन् ।

उद्योग कार्यालयमा अहिलेसम्म उत्पादनमूलक तीन हजार दुई सय आठ, कृषिसम्बन्धी छ हजार पाँच सय १४, निर्माणसम्बन्धी दुई, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक पाँच हजार छ सय ८५ गरी १५ हजार चार सय ८३ उद्योग दर्ता भएका छन् ।

अहिलेसम्म दर्ता भएका उद्योगमा २५ अर्ब ७० करोड ३७ लाख रूपैयाँ लगानी प्रस्ताव गरिएको छ । ती उद्योगमा नौ हजार दुई सय ११ महिला र ६९ हजार छ सय ५७ पुरुषलाई रोजगारी प्रस्ताव गरिएको जनाइएको छ ।

गत आव २०८०/८१ मा उत्पादनमूलक एक सय ३५, कृषिमूलक तीन सय २३, सेवामूलक दुई सय ५६ गरी जम्मा सात सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताए । गत आवमा एक करोड ७७ लाख ४४ हजार सात सय ७७ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०७९/०८० मा एक हजार एक सय सय ९७ उद्योग दर्ता भएकामा कार्यालयले ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो ।

अघिल्ला आव भन्दा गत आव २०८०/८१ मा उद्योग दर्तामा कमि आएको छ । लेखा अधिकृत जोशीले अघिल्लो आवको तुलनामा गत आव २०८०/८१ मा करको दर बढेसँगै वाणिज्य कार्यालयले दर्ता गर्ने पसललगायतका काम गत आवदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजूस्व सङ्कलनमा वृद्धि भएको बताए ।


क्लिकमान्डु