उद्योग खोल्न निवेदन परेको ७ दिनमा स्वीकृति, नगर्ने कर्मचारीलाई कारबाही



काठमाडौं । सरकारले उद्योग व्यवसाय सञ्चालन गर्न सरकारलाई निवेदन परेको ७ दिनमै स्वीकृति दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा व्यवसायी मैत्री वातावरण निर्माणको पक्षमा सरकार रहेको बताउँदै यस्तो सहजीकरण गर्ने दाबी गरेका हुन् ।

‘उद्योग व्यवसाय दर्ताका लागि सुरुकै बिन्दुमा सबै प्रकारको स्वीकृति उपलब्ध गराउने व्यवस्था हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘निवेदन परेको ७ दिनभित्र स्वीकृति दिने, स्वीकृति दिन नसक्ने भए कारण खोली जानकारी दिने र समय लाग्ने भए के कारण र कति समय लाग्ने हो खुााइ जानकारी दिने सुरुवात गर्नेछौं ।’ उनले निर्धारित समयभित्र स्वीकृति नदिने कर्मचारीलाई सजाय दिने समेतको कानुनी व्यवस्था गरिने बताए ।

प्रधानमन्त्री ओलीले नेपालले किनिमात्र रहेको भन्दै अब बेच्ने बानीको पनि विकास गर्ने बताए । ‘अरुले बेचिमात्र रहेका छन्, हामी किनिमात्र रहेका छौं । बिक्री नगर्ने खरिदमात्र गरिहने पनि व्यापार हुन्छ र ?’ ओलीको प्रश्न छ । अब नेपालले खास व्यापार गर्न सिक्न भन्दै आयात प्रतिस्थापन गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग प्रबद्र्धन गर्नु सरकारको प्राथमिकता रहेको दाबी गरे । यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले स्टार्टअप, आईटी, हाइग्रोथ इन्टरप्राइजेजलाई उत्प्रेरित गरी देशभित्र आर्थिक अवसर सिर्जना गर्न अर्थ मन्त्रालयले विद्यमानी कानुनी र वित्तीय संरचनाको अध्ययन गर्ने तथा स्टार्टअपलाई प्रोत्साहन तथा सहजीकरण गर्न प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयले एक विशेष संयन्त्र तयार पार्ने बताए ।


क्लिकमान्डु