व्यवसायीहरू मरिच झैं चाउरिएका छन्, आर्थिक वृद्धिका लागि सरकारले काम गर्छ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक चरम निराशामा पुगेको बताउँदै त्यसलाई चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा आइतबार विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा प्रधानमन्त्री ओलीले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए । उनले अर्थतन्त्र डामाडोल रहेको बताए ।

‘सिंगो देश चरम निराशामा छ । २०४६ सालपछि चरम निराशा पुग्यो । अर्थतन्त्र डामाडोल छ । १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतशित राजस्व कम उत्पादन भएको छ’ ओलीले भने ।

अहिले बैंकमा पैसा थुप्रिएको भए पनि कुनै पनि व्यवसायी लगानी गर्न तयार नरहेको उनले बताए । ‘ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । सरकार स्टन्टबाज भयो । सरकार थुन्ने अनि सुन्ने काम भयो भन्ने कुरा लिएर व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन । व्यवसायीहरू मरिच झैं चाउरिएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक वृद्धिका लागि लगेको हो ।’


क्लिकमान्डु