बैंकबाट १० अर्ब ऋण लिएको स्वस्तिकको रेटिङ खोसियो, नाफामा ह्रास



काठमाडौं । केएल दुगड ग्रुपको स्वस्तिक आयल इन्डिस्ट्रिजको रेटिङ खोसिएको छ । वार्षिक ११ अर्ब रुपैयाँभन्दा बढीको घ्युतेल उत्पादन गर्ने स्वस्तिकले विवरण उपलब्ध गराउन छाडेपछि रेटिङ विथड्र गरिएको हो ।

स्वस्तिकले १० अर्ब रुपैयाँ कर्जा लिनका लागि रेटिङ गराएको थियो । तर, कम्पनीले करिब १ वर्षदेखि वित्तीय विवरण बुझाउन छाडेकापछि इन्फोमेरिक्स क्रेडिट रेटिङले स्वस्तिकले रेटिङ घटाएको थियो । तर, ६ महिना बित्दासम्म पनि विवरण नदिएपछि रेटिङ हटाइएको इन्फोमेरिक्सले जनाएको छ ।

मोरङको बिराटनगर–९ मा ४० वर्षअघि स्थापित स्वस्तिक आयल इन्डिस्ट्रिज खानेतेल प्रोसेसिङ तथा रिफाइनिङ कार्य गर्दै आएको छ । कम्पनीको सोयाविन, पाम र सुर्यमुखी तेल रिफाइनिङ गर्ने क्षमता १ लाख ४५ हजार मेट्रिक टन प्रतिवर्ष रहेको छ ।

स्वस्तिक आयल प्रतिष्ठित व्यापारिक घराना केएल दुगडले प्रबद्र्धन गरेको कम्पनी हो ।

स्वस्तिकको कुल कारोबार वार्षिक ११ अर्ब रुपैयाँ छ । तर गत वर्ष ब्याज, कर, डिप्रिसिएसन भन्दा अघि कम्पनीको नाफा कुल नाफाको ६ प्रतिशतमा झरेको छ । यस्तो नाफा अघिल्लो १४ प्रतिशत थियो ।

कम्पनीले १ अर्ब १९ करोड दीर्घकालीन र ९ अर्ब २८ करोड अल्पकालीन गरी कुल १० अर्ब ४७ करोड रुपैयाँ बैंक सुविधा लिन रेटिङ गराएको थियो ।

तर, रेटिङ गराएको कम्पनीको टेलिफोन, इमेल तथा एसएमएस नकार्दै सहकार्य गर्न नमानेपछि रेटिङ एजेन्सी रेटिङ विथड्र गर्न बाध्य भएको हो ।

बिराटनगरको दुगड ग्रुप उद्योगी किसन लाल दुगडको अध्यक्षता रहेको उद्योगी समूह हो ।


क्लिकमान्डु