जापान घुम्‍ने विदेशी पर्यटक ६ महिनामै १ करोड ७७ लाखभन्दा धेरै



जापान

एजेन्सी । जापानमा २०२४ को पहिलो ६ महिनाको अवधिमै १ करोड ७७ लाख ८० हजारभन्दा धेरै विदेशी पर्यटकले अवलोकन गरेका छन् ।

देशको पर्यटन एजेन्सीले सार्वजनिक गरेको तथ्यांक अनुसार जापानी एन सस्तो भइरहँदा तीब्र मात्रामा विदेशी आउने क्रम बढेको बताइएको छ ।

जुन कोरोना महामारीअघिको समयमा प्रवेश गर्ने आगन्तुकको भन्दा पनि धेरै संख्या रहेको बताइएको हो। जनवरीदेखि जुनसम्मको अवधिको तथ्यांक जापान राष्ट्रिय पर्यटन संगठनले शुक्रबार सार्वजनिक गरेको हो । जवकि कोरोना महामारीभन्दा पहिले २०१९ मा १ करोड ६६ लाख ३० हजार विदेशीले जापान भ्रमण गरेका थिए ।

जापानी मुद्रा एनको मूल्य घटिरहँदा विदेशी पर्यटकहरुको खर्च गर्ने क्षमतामा वृद्धि आएको बताइन्छ । यसैले पनि जापानको पर्यटनमा संख्यात्मक वृद्धि भएको बताइएको छ ।

सरकारी तथ्यांक अनुसार यसबीचमा सबैभन्दा धेरै दक्षिण कोरियालीहरुले जापान भ्रमण गरेका छन् । जहाँबाट ४० लाख ४० हजार आगन्तुक भित्रिए । यस्तै चिनियाँ पर्यटकहरु दोस्रोमा छन् । त्यसपछि क्रमश ताइवान र अमेरिकाबाट आउनेहरु थिए ।

जापानमा माउन्ट फुजी, राजधानी टोकियो, हिरोसिमा, ओसाका क्यासल, सिन्जुकु लगायत स्थान अवलोकन भ्रमणका लागि विश्वप्रसिद्ध छन् ।


क्लिकमान्डु