निजी क्षेत्रले ल्यायो १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यसहित १० अर्ब रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ स्थापना भएको छ ।

देशभरका ७७ वटै जिल्लाका उद्योगी व्यवसायिहरुको लगानी हुने गरि सामूहिक लगानी कोष स्थापना भएको हो ।

देशका ७७ वटा जिल्लामा १२० हाराहारी जिल्ला तथा नगर उद्योग वाणिज्य संघ छन् । ठूला पूर्वाधारका प्रतिफलयुक्त आयोजनामा लगानी गर्ने उद्देश्यसहित सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा आबद्ध रहेका र नरहेका पनि उद्योगी व्यवसायिहरुको सामूहिक लगानी कोष महासंघका अध्यक्ष ढकालको नेतृत्वमा स्थापना भएको हो ।

ढकालले महासंघको ढोरपाटमा भएको कार्यसमिति बैठकबाट १० अर्ब रुपैयाँको इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेका थिए।

नयाँ स्थापित कम्पनीको संचालकमा नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटा र आध्यन्ताका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेल संचालक छन् ।

असार अन्तिम साता दर्ताको प्रकृयामा गएको कम्पनीको जारी पुँजी १० अर्ब हुने छ भने १ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनेछ । कम्पनीको प्राथमिक सेयर जारी गरेर सर्वसाधारणको समेत लगानी जुटाईने योजना रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु