नाडा-अर्थमन्त्री भेटः गाडी किन्दा डाउनपेमेन्ट २५ प्रतिशत बनाउन माग



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री पौडेलसँग भेट गरी सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने सुधारका विषय पेश गरेको छ ।

नाडाले वर्तमान नीतिमा सुधारका लागि आग्रह गर्दै २२ बुँदे सुझाव समेत पेश गरे । उक्त छलफलमा खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैंकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन-टु-भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सिमा लाई बढाएर ७५ प्रतिशत पुर्‍याउनु पर्ने अर्थात डाउनपेमेन्ट २५ प्रतिशत कायम गर्न सुझाव राख्दै कालोसुचीमा रहेको व्यक्ति फर्मलाई कर चुक्ता तथा नवीकरण गर्न रोक लगाईनु पर्ने र यसका लागि बैंकले कालोसुचीमा राखेको ग्राहकलाई कर कार्यालयले पनि कालोसूचीमा राख्ने व्यवस्था गर्नुपर्ने तथा अनुसुची १३ मा देखाइएको वक्यौतालाई आधिकारिक मानी कानुनी प्रक्रियामा जान मिल्नेगरी कार्यविधि तयार गर्नुपर्ने सुझाव दिए ।

त्यसैगरी कालो सूचीमा परेका व्यक्तिहरुले पनि अन्य बैंकबाट आफ्नो कारोबार गरिरहेको देखिएकोले कालो सूचीमा परेका व्यक्ति वा कम्पनीमाथिको कारवाही ज्यादै फितलो हुन गएको गुनासो चौधरीले गरे । त्यसै क्रममा अध्यक्ष चौधरीले चालुपुँजी कर्जा मार्गदर्शन २०७९ का सम्बन्धमा चालुपुजी कर्जा मार्गदर्शन लागु भएको मितिभन्दा अगाडि कर्जा लिएकालाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मिति पछि कर्जा लिएकालाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने सक्ने धारणा राखे ।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल राष्ट्र बैंकले निजी प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनलाई स्पष्ट रुपमा छुट्याई सोहीअनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने माग गरे । त्यसैगरी कुनै पनि क्षेत्रमा निष्क्रिय कर्जा ५ प्रतिशत भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स गर्न नमिल्ने भएकोले व्यावसायीक महत्वका माइक्रोबस र निजी प्रयोजनका कार एउटै क्षेत्र अन्तरगत पर्ने हुँदा धेरै बैंकहरुले डिजेल पेट्रोलबाट चल्ने निजी कारलाई पनि फाइनान्स गर्न बन्द गर्नुपर्ने बताए । उनले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन ऋणीको चुक्ता गर्ने क्षमताको गणना गर्र्दा विचार गर्नुपर्ने सुझाव दिए ।

छलफलको क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको सीमा क्षेत्रमा कडाइ गरिनु पर्ने भनाई राख्दै नेपाल मै उत्पादन हुने सबै किसिमका अटोमोवाइल्स, स्पेयर पार्टस्, ब्याट्री, लुब्रिकेन्टस् तथा टायर निर्यात गर्दा अन्य निर्यात वस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था हुनु पर्ने तथा नेपालमा उत्पादित ब्याट्री तथा टायरहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिह्न एनएस पाउने व्यवस्थाका लागि आग्रह समेत गरे ।


क्लिकमान्डु