सिभिल सहकारीका अध्यक्ष लगायत पदाधिकारी जेलमाः बचतकर्ता, ऋणी र सञ्चालक खोज्दै समस्याग्रस्त समिति



काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको करिब १ वर्षपछि बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले संस्थाका सञ्चालकको खोजी सुरु गरेको छ ।

समितिको कार्यालयले सिभिल सहकारीका बचतकर्ता, ऋणी र सञ्चालक तथा सरोकारवालाको खोजी सुरु गरेको छ ।

सञ्चालक तथा कर्मचारीले सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरू समितिसमक्ष बुझाई कार्यालय बन्द गर्नुका साथै कुनै पनि कारोबार नगर्नु नगराउन भनेको छ ।

समितिले सञ्चालक र कर्मचारीले समितिसमक्ष उपस्थित भई आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरूले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्नुका साथै साबिक सञ्चालक तथा कर्मचारीसँग भुक्तानीसम्बन्धी कुनै पनि कारोबार नगर्न भनेको छ ।

यस्तै बचतकर्ताहरूले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू सुरक्षित राखी समितिबाट मागदाबी आवेदनको सूचना जारी भएपछि समितिसमक्ष निवेदन पेस गर्न समेत भनेको छ ।

समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको कार्यालयमा मात्र सम्पर्क राख्न भनेको छ ।

प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम बागमती प्रदेश, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको मिति २०८० भदौ २१ को मन्त्रीस्तरीय निर्णयबाट उक्त सहकारी समस्याग्रस्त घोषणा भएको छ ।
हाल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ, पूर्व अध्यक्ष इच्छाराज तामाङ लगायत पदाधिकारीहरु सहकारी ठगी केसमा हिरासतमा रहेका छन् ।


क्लिकमान्डु