बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद बिक्री सम्झौता गर्दैछौं: ऊर्जा मन्त्री



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको बताएका छन् ।

बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु रहेको बताए । उनले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताए ।

१० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्न लागेको बताउँदै उनले केही दिनपछि बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उल्लेख गरे ।

मन्त्री खड्काले इन्जिनियरहरु कुनै पनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरुको ध्यानाकर्षण गराए ।

‘हामी १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्दैछौँ । आउने २८ तारिख बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद बिक्रीको सम्झौता गर्दैछौँ । मलाई लाग्छ हामी यसलाई डबलका हिसावमा बिक्री गर्न सक्छौँ । तर हामीसँग ३ हजार २०० मेघावाट मात्रै विद्युत उपलब्ध छ,’ उनले भने ।


क्लिकमान्डु